दाङ । तुलसीपुर उपमहानगरपालिका–११ र दंगीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । चारैतिर फैलिएको हरियाली र बबई नदीमाथि बनेको पुलबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न दैनिक आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।
विशेषगरी साँझपख सूर्यास्तको समयमा बबई नदीमा पर्ने सुनौलो छायाँ र पुलबाट देखिने प्राकृतिक सौन्दर्यले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । त्यसैले यहाँ आउने धेरैजसो युवायुवती टिकटक भिडियो बनाउने, फोटो खिच्ने तथा प्राकृतिक दृश्य कैद गर्ने गर्छन् ।
गत वर्षको गर्मीयामदेखि सामाजिक सञ्जालमा यस पुलको चर्चा बढेपछि यसको लोकप्रियता झनै विस्तार भएको हो । दाङसँगै सल्यान र रुकुमलगायतका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा घुम्न आउने गरेका छन् ।
सल्यानकी शारदा केसीले सामाजिक सञ्जालमा पुलको तस्बिर र भिडियो देखेपछि प्रत्यक्ष अवलोकन गर्न आएको बताउनुभयो । सामाजिक सञ्जालमा यहाँको तस्बिर र भिडियो देखेर आफु घुम्न आएको बताउनुभयो । वास्तवमै हेर्नैपर्ने ठाउँ भएको उहाँको भनाइ छ ।
स्थानीय पत्रकार लक्ष्मण बस्नेतका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न भए पनि गत वर्षदेखि पुल चर्चामा आएको हो । उहाँका अनुसार गत वैशाख र जेठ महिनामा गर्मी छल्न दैनिक एक हजारभन्दा बढी मानिस पुल अवलोकन तथा शीतलता अनुभव गर्न पुगेका थिए । अहिले वर्षायाम सुरु भइसके पनि दैनिक पाँचदेखि छ सय जनासम्म घुम्न आउने गरेका छन् ।
करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको यो पुल ४०० मिटर लामो छ । पुल निर्माण भएपछि स्थानीयवासीको आवतजावत सहज भएको छ । तुलसीपुर बजारदेखि करिब १२ किलोमिटर दक्षिण–पश्चिममा रहेको यस क्षेत्रलाई थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विस्तार, पर्यटकमैत्री सेवा तथा आवश्यक सुविधाको व्यवस्थापन गर्नुपर्ने स्थानीयले बताएका छन् ।



















