२०८३ साउन ६ गते बुधवार

घोराहीमा १ सय ९८ दशमलव २ किलोमिटर सडक कालोपत्रे


दाङ । घोराही उपमहानगरपालिकाले सडक पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । उपमहानगरपालिकाका अनुसार हालसम्म १९८ दशमलव २ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै ४५८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र २८० किलोमिटर नयाँ सडक निर्माण सम्पन्न गरिएको छ । साथै ६८ दशमलव ३ किलोमिटर सडक मर्मत गरिएको छ ।

२०७४ सालपछि सञ्चालन गरिएका विकास योजनामार्फत नगरका अधिकांश वडामा सडक सञ्जाल विस्तारसँगै आधारभूत पूर्वाधारमा उल्लेखनीय सुधार भएको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार सडक सञ्जाललाई व्यवस्थित बनाउन २ सय ७ वटा कल्भर्ट र ५ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । यसले सबै वडालाई सडक सञ्जालसँग जोड्दै आवागमन, शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाले ९९ किलोमिटर ढल तथा नाला निर्माण, फोहोर व्यवस्थापनका लागि स्यानेटरी ल्याण्डफिल साइट निर्माण, तथा बाढी र कटान नियन्त्रणका लागि २० दशमलव ९ किलोमिटरभन्दा बढी नदी नियन्त्रण तथा तटबन्ध निर्माण सम्पन्न गरेको जनाएको छ । यसबाट बस्ती तथा कृषि योग्य जमिन संरक्षणमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस