२०८३ साउन ७ गते बिहिवार

राष्ट्रिय परिचय पत्र बनाउने भिड: दुई दिनसम्म पनि सेवा पाउन नसकेको गुनासो


दाङ। राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिनेको भिड अचानक बढेको छ । अत्याधिक भिडभाड बढेपछि प्रशासन कार्यालयलाई सेवा प्रवाह गर्न समस्या भएको छ भने सेवाग्राहीले सास्ती पाएका छन् ।

ईलाका प्रशासन कार्यालय तुलसीपुरमा बिहिबार पनि बिहानैदेखि भिड थियो । कार्यालयमा आएको दुई दिनसम्म पनि सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् ।

शान्तिनगर गाउँपालिका–१ खिलतपुर निवासी ६३ वर्षिय आनन्द खत्रीले दुई दिनसम्म पनि सेवा नपाएको गुनासो गर्नुभयो । समयमै सेवा नपाउँदा खर्च समेत बढेको उहाँले बताउनुभयो ।

तुलसीपुर–१४ अकमी निवासी कुमारी चौधरी पनि राष्ट्रिय परिचय पत्र बनाउनका लागि ईलाका प्रशासन कार्यालय तुलसीपुरमा धाउन थालेको दुई दिन भयो । तर अझैसम्म पनि काम नभएको बताउनुभयो । बिहिबार दिउँसो परिचयपत्रकै लागि लाइनमै बसेकी उहाँले दुई दिनसम्म पनि काम नबनेको बताउनुभयो ।

तुलसीपुर–९ बेलुवाका मोहनलाल डाँगीले पनि बैंकले अनिवार्य राष्ट्रिय परिचयपत्र खोजेकोले प्रशासन कार्यालयमा परिचयपत्र बनाउन आएको बताउनुभयो । तर दुई दिनसम्म पनि सेवा पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बिहिबार दिउँसो इलाका प्रशासन कार्यालय तुलसीपुरमा रीमा रिजाल पनि राष्ट्रिय परिचय पत्र बनाउने लाइनमै हुनुहुन्थ्यो । तर उहाँले नयाँ बनाउने भन्दा पनि यसअघि आवेदन दिएको नम्बरको खोज्न आउनुभएको थियो । पहिले बनाएको तर नम्बर हराएपछि कार्यालयमै आएको बताउनुभयो । तर कार्यालयमा अत्याधिक भिडभाड हुँदा सास्ती पाएको बताउनुभयो ।

ईलाका प्रशासन कार्यालय तुलसीपुरका सूचना अधिकारी टंकराज गौतमका अनुसार गत शुक्रबारसम्म सेवाग्राहीको संख्या अत्यन्त न्यून थियो । तर सोमबारबाट ह्वात्तै बढेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी गौतमले सेवाग्राहीको संख्या ह्वात्तै बढेपछि पहिले दुई ठाउँबाट दिँदै आएको सेवा अहिले तीन ठाउँबाट सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले यसअघि दैनिक १०० जनालाई सेवा प्रवाह भइरहेकोमा अहिले १५० जनासम्मलाई सेवा दिन थालेको बताउनुभयो । उनिहरुलाई पनि टोकनप्रणाली लागु गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा पनि राष्ट्रिय परिचय पत्र लिनेको भिड अत्याधिक छ । बिहिबार बिहान कार्यालयमा लामो लाइन रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस