दाङ । नेपालले ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेकाे छ।
नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१\०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत आयात–निर्यातको तथ्यांकले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको हो । समीक्षा वर्ष २०८२/०८३ मा भारत र बंगलादेशतर्फको विद्युत निर्यातबाट नेपालले कूल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ६७ दशमलव ९६ प्रतिशतले बढी हो ।
प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत निर्यात भएको थियो । त्यसबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो । तर, समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२ दशमलव ८९ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ । भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७ दशमलव ५६ रुपैयाँ प्रतियुनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी भएको हो ।
निर्यात आम्दानीमा वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ६८ करोड चार लाख युनिट विद्युत आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो ।
तर, समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१ दशमलव ५७ प्रतिशतले घटेर एक अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ । आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कूल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको हाे । जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव २९ प्रतिशतले कम हो ।
समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कूल आयात खर्च कटाउँदा नेपालले विद्युत व्यापारबाट मात्रै कूल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३ सय १३ प्रतिशतले वृद्धि भएको हाे ।
देशभित्रै जलविद्युत उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारणलाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको छ ।



















