२०८३ साउन २९ गते शुक्रवार

रुकुम पूर्वमा रातिको समयमा सवारी साधन चलाउन रोक


दाङ । लगातारको वर्षासँगै मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि रुकुम पूर्वमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सूचना जारी गर्दै साउन २९ गते राति ९ बजेदेखि साउन ३० गते बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरा लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान रहेकाले सडकमा थप पहिरो खस्ने जोखिमसमेत कायमै छ ।

सम्भावित दुर्घटना र मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा जोखिम बढेको बताउनुभयो ।

यसअघि पनि वर्षाका कारण भूमे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको थियो । तर, लगातार पानी परिरहेकाले सडक माथिको जमिन कमजोर बनेको र जुनसुकै बेला पहिरो खस्न सक्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।

विशेषगरी रातिको समयमा पहिरो तथा ढुंगा खसेको तत्काल पहिचान गर्न कठिन हुने भएकाले सवारी साधन र यात्रुको जोखिम बढ्ने प्रशासनको भनाइ छ । प्रशासनले वर्षाको समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्था भए मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्रै अघि बढ्न प्रशासनले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस