दाङ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौर, दाङ र कपुरकोट गाउँपालिकाबीच दैनिक रूपमा आँखा उपचार सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।
राप्ती आँखा अस्पतालसम्म पहुँच कम भएका नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, सुलभ तथा निरन्तर आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो । सम्झौताअनुसार कपुरकोट आधारभूत अस्पतालबाट आगामी असोज १५ गतेदेखि नियमित रूपमा आँखा स्वास्थ्य सेवा सञ्चालन हुने वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।
स्थानीय तहमै आँखा उपचार सेवा उपलब्ध भएपछि कपुरकोट तथा आसपासका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यसबाट दृष्टिविहीनता तथा दृष्टिदोषका समस्या न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
सम्झौता कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भरारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, स्वास्थ्य शाखा प्रमुख सुवास हमाल र कपुरकोट आधारभूत अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनको उपस्थिति रहेको थियो ।
यस्तै, नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहसचिव प्रणवकुमार खड्का, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतम, मेडिकल डाइरेक्टर सह प्राध्यापक डाक्टर रञ्जितकुमार साह, वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, लेखा प्रमुख हुमबहादुर चौधरी, प्रशासन सहायक पूर्णबहादुर वलीलगायतको उपस्थिति रहेको थियो ।






















