२०८३ भाद्र २० गते शनिवार

बाढी प्रभावितलाई लायन्स क्लब अफ दाङ क्यापिटलद्वारा ५७ हजार बढी सहयोग


दाङ । लायन्स क्लब अफ दाङ क्यापिटलले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि ५७ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

क्लबले एक हप्ता अघि गत बुधबार आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५७ हजार १११ रुपैयाँ ५७ पैसा जम्मा गरेको हो ।

लायन्स वर्ष २०२६/०२७ का अध्यक्ष डम्बर केसीले देशमा आइपरेको महाविपत्तिमा सबै मिलेर प्रभावित नागरिकको साथमा उभिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उद्धार, उपचार तथा पुनःस्थापनाका काममा सहयोग पुर्‍याउन क्लबको तर्फबाट आर्थिक सहयोग गरिएको बताउनुभयो ।

अध्यक्ष केसीले विपद्बाट प्रभावित नागरिकको पीडामा मलम लगाउन सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र, व्यवसायी र सर्वसाधारण सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला लायन्स क्लब अफ दाङ क्यापिटलले सहयोग गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस