२०८३ असोज २१ गते बुधवार

रसुवा बाढीबाट वेपत्ता भएका चार घर परिवारलाई खाद्यान्न सहयोग

दाङ । रसुवा बाढीपछि वेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका चार जनाका घर परिवारलाई बिहिबार खाद्यान्न सहयोग गरिएको छ ।

वडा अध्यक्ष मोहन पौडेलको पहलमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं व्यवसायी टोप बहादुर घर्ती र कमलपोखरी योग साधना केन्द्रले चामल, दाल, तेल लगायतका खाद्य सामग्री सहयोग गर्नुभएको हो ।

व्यवसायी घर्तीले जन्मदिनको अवसरमा बाढीबाट प्रभावित परिवारलाई खाद्य सामग्रि सहयोग गर्नुभएको हो । रसुवा बाढीपछि वेपत्ता गोपीलाल रोका (बुवा), लालबहादुर रोका (छोरा), नारायण अधिकारी र शोभाराम योगीको परिवारलाई घरमै पुगेर खाद्य सामग्री सहयोग गरिएको हो ।

बाढीबाट वेपत्ता भएको लामो समयसम्म पनि केहि पत्ता लाग्न नसकेपछि अहिले घरपरिवारले कुशको शब बनाएर अन्तिम संस्कार गरिसकेका छन् । काजक्रिया चलिरहेको अवस्थामा घरपरिवारलाई थोरै भएपनि राहत पुगोस् भनेर खाद्य सामग्री सहयोग गरिएको वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।

वडाका प्रभावित परिवारलाई यसअघि पनि वडाकै पहलमा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्रति परिवार १ लाख ३० हजारका दरले नगद पनि सहयोग गरिएको थियो । गत भदौ १० गते आएको रसुवा बाढीमा परी कामको शिलशिलामा रसुवा पुगेका तुलसीपुर–१३ दमारगाउँका चार जना वेपत्ता भएका छन् ।

वेपत्ताको खोजीका लागि वडा अध्यक्ष पौडेल आफैले घरिवारलाई लिएर प्रभावित स्थलमा पुगेर खोजि गर्नेदेखि अन्तिम काजक्रियासम्ममा पनि विभिन्न सहयोग गरिरहनुभएको छ । विपदको अवस्थामा वडा अध्यक्ष पौडेलले दिएको साथबाट प्रभावित परिवारले राहतको अनुभूति गर्न पाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस