दाङ। दाङको तुलसीपुर–७, झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी विद्यालयले शैक्षिक सुधारका लागि अभिभावकसंगको भेटलाई तिब्रता दिएको छ । विद्यालयले बिहिबार कक्षा ५ मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया गरेको छ ।
विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीहरूको पढाइ–लेखाइ, सिकाइ उपलब्धि, अनुशासन तथा समग्र शैक्षिक प्रगतिका विषयमा अभिभावकसँग छलफल तथा अन्तरक्रिया गरेको बताउनुभयो ।

कार्यक्रममा कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अवस्था, सिकाइमा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा अभिभावक र विद्यालयबीच छलफल गरिएको हो ।
प्रधानाध्यापक पुनले विद्यार्थीको शैक्षिक प्रगतिका लागि विद्यालय र अभिभावकबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यालय संचालन उपसमितिका सदस्य उत्तम भण्डारी, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी लगायतले विद्यार्थीको पढाइसँगै अनुशासन, व्यवहार तथा समग्र व्यक्तित्व विकासमा समेत अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

विद्यालयले यस्ता कार्यक्रममार्फत अभिभावकसँग प्रत्यक्ष संवाद गरी विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न तथा विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्य लिएको प्रधानाध्यापक पुनले बताउनुभयो । विद्यालयले यसअघि कक्षा १० विद्यार्थीका अभिभावकसंग अन्तरक्रिया गरेको थियो ।


























