दाङ । तुलसीपुर उपमहानगरपालिका–७ बम्नैमा रहेको शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले पशुपन्छीका लागि दानाको डिलर, एलपी ग्यासको डिलर तथा सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
संस्थाको शनिबार बम्नैमा सम्पन्न २३औँ साधारणसभाले स्थानीय उपभोक्ता तथा सदस्यलाई सहुलियत दरमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै, पशुपन्छीका लागि आवश्यक दाना सहज रूपमा उपलब्ध गराउन दानाको डिलर तथा बढ्दो मागलाई ध्यानमा राख्दै ग्यासको डिलरसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि जिसीले सहकारी क्षेत्रमा राजनीतिक खिचातानी गर्न नहुने बताउनुभयो। उहाँले सहकारीले सदस्यहरूको भावना र आवश्यकतालाई बुझेर आगामी नीति, कार्यक्रम तथा योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभामा सहभागी सेयर सदस्य तथा उपभोक्ताले रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको गुनासो गरेका थिए । गुनासोको सम्बोधन गर्दै वडाध्यक्ष जिसीले रासायनिक मलको व्यवस्थापन संघीय सरकारको जिम्मेवारी भएकाले उचित व्यवस्थापन हुन नसक्दा तत्काल समस्या देखिएको बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष बुद्धिराम भुषालले राज्यको नीतिका कारण रासायनिक मलको अभाव भइरहेको भन्दै किसानलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले संस्थालाई पुराना नेतृत्वको सुझाव र नयाँ नेतृत्वको योजनाअनुसार अघि बढाउनुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार प्रेमप्रसाद खनालले सहकारीको कार्यक्षेत्रभित्रका अधिकांश सदस्य कृषि पेसामा आबद्ध रहेकाले पशुपन्छीका लागि आवश्यक दानाको डिलर सञ्चालन गरी सदस्यलाई सेवा दिन आग्रह गर्नुभएको थियो । अर्का सल्लाहकार ईश्वरीप्रसाद पौडेलले सहकारीका वास्तविक मालिकनै सदस्य भएकाले सबै एकजुट भएर सहकारीलाई साझा संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव ताराप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सहकोषाध्यक्ष मोहनप्रसाद कँडेलले प्रस्तुत गर्नुभएको थियो। यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक श्रवणकुमार आचार्यले प्रस्तुत गर्नुभएको हो । साधारणसभामा पेस भएका सम्पूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन् ।
यसैविच साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको छ । असल ऋणीतर्फ मधु राणा र जुगलाल चौधरी, असल कृषकतर्फ मिठ्ठु अधिकारी र डुवीन्द्रराज केसी, असल बचतकर्तातर्फ डिल्लीराज रजौरे र सरस्वता खनाल तथा असल व्यवसायीतर्फ यामकुमारी भण्डारी र गीताकुमारी अधिकारी सम्मानित हुनुभएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिक सम्मानबाट धनसरी रोका, सुन्दरी दमेनी, गीतादेवी आचार्य, भीमप्रसाद ढकाल, तुलबहादुर नेपाली र युवराज गिरी सम्मानित हुनुभएको छ । संस्थाका सहसचिव गीता पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण व्यवस्थापक भावना पौडेलले गर्नुभएको थियो ।
तुलसीपुरका वडा नम्बर ४, ६ र ७ कार्यक्षेत्र रहेको सहकारीमा हाल ७ सय ८३ जना सेयर सदस्य छन् । संस्थाले बचत तथा ऋण, डेरी व्यवसाय, रासायनिक मल वितरण र किसानका लागि ट्याक्टर सेवा उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, संस्थाको पाँचौँ अधिवेशनको बन्दसत्रबाट ऋषिराम पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । पोखरेल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक प्रेमप्रसाद खनालले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगतबहादुर केसी, सचिवमा ताराबहादुर अधिकारी, सहसचिवमा दामा भुसाल, कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी र सहकोषाध्यक्षमा मोहनप्रसाद कँडेल चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा मदनकुमार आचार्य, तिलसरा विक, मीनादेवी नेपाली, तेजकुमारी आचार्य, भोजराज भण्डारी, गोपाल कुमाल र बालिका न्यौपाने पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


























