दाङ । दाङ उपत्यकासहित देशका केहि ठाउँमा आजबिहानदेखि पानी पर्नेक्रम केहि कम भएको छ । तर देशका अधिकांश ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।
बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले अहिले पनि देशका धेरै ठाउँमा पानी परेको छ । उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । धेरै ठाउँमा बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो ।
अहिले पूर्वमा भन्दा मध्य र पश्चिमी भेगमा पानी पर्ने क्रम बढेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसोदेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुँदै जानेछ । त्यसपछि वर्षाको गतिविधि पनि क्रमिक रूपमा कम हुनेछ । अर्नबको प्रभाव कम हुने भए पनि हल्का वर्षाको सम्भावना कायमै रहेकाले ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।



























