दाङ । दाङमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक राप्ती गाउँपालिका– ६ भगवानपुरका अन्दाजी ३१ वर्षका प्रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परि सोही मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरियाका अन्दाजी १६ वर्षका निशु चौधरी र सोही ठाउँकै अन्दाजी १९ वर्षका करिना चौधरी गम्भीर घाइते भएका छन् । घाइते दुवैकोे बुटवल स्थित लुम्बिनी सिटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
लमही– भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका–३ बाघढड्डीमा गएराती साढे १ बजेतिर ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किए दुर्घटना भएको हो ।
पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



























