२०८३ कार्तिक २२ गते आइतवार

तुलसीपुरमा फायर एक्सटिङ्गुइसर (अग्नि नियन्त्रक सामग्री) रिफिल निःशुल्क गरिने


दाङ । दाङको तुलसीपुरमा आगलागीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले व्यवसायीहरूले प्रयोग गर्ने अग्निनियन्त्रक सामग्री (फायर एक्सटिङ्गुइसर) निःशुल्क रिफिल गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले आगो नियन्त्रणका लागि प्रयोग हुने फायर एक्सटिङ्गुइसर रिफिल निःशुल्क गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको साझेदारीमा तुलसीपुरका व्यवसायीहरूलाई लक्षित गरी यस्तो व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

शनिबार तुलसीपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा आयोजित ‘आगलागीजन्य विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मी र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले आगलागीबाट हुने सम्भावित क्षति कम गर्न व्यवसायीहरूलाई अग्निनियन्त्रक सामग्रीको प्रयोग र व्यवस्थापनमा सहज बनाउने उद्देश्यले निःशुल्क रिफिलको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले आगलागीजन्य विपद् जुनसुकै बेला हुन सक्ने भएकाले पूर्वतयारी र सावधानी आवश्यक रहेको बताउनुभयो । उहाँले अग्निनियन्त्रक सामग्रीलाई प्रयोगयोग्य अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो ।

निःशुल्क रिफिलको व्यवस्था कार्यान्वयनमा आएपछि तुलसीपुरका व्यवसायीहरूलाई राहत पुग्ने उहाँको भनाई छ । आगलागी नियन्त्रणमा तत्कालै प्रभावकारी कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस