२०८३ कार्तिक २२ गते आइतवार

दशौँ राष्ट्रिय खेलकुदका लागि दाङबाट २२ खेलका खेलाडी छनोट

दाङ । आगामी मंसिरमा सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङबाट २२ विधाका खेलाडी छनोट भएका छन् ।

कात्तिक १५ गतेदेखि सुरु भएको जिल्ला स्तरीय छनोट प्रतियोगिता कात्तिक २० गते सम्पन्न भएको हो । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहेको दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुद्धिचाल, फुटबल, क्रिकेट, बक्सिङ, रग्बी, जुडो, ह्यान्डबल, भारोत्तोलन, एथलेटिक्स, कबड्डी, उसु, तेक्वान्दो, कराते, ब्याडमिन्टन, भलिबल, आईटीएफ तेक्वान्दो, खोखो, बास्केटबल, हक्की, फुल कन्ट्याक्ट कराते र टेबलटेनिस तथा शारीरिक सुगठन विधामा खेलाडी छनोट भएका हुन् ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा छनोट प्रतियोगिता सञ्चालन गरिएको थियो । समितिको बेलझुण्डीस्थित कार्यालय परिसरबाट उद्घाटन गरिएको प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको थियो ।

जिल्लाबाट छनोट भएका खेलाडीहरूले अब प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशबाट छनोट हुने खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस