२०८३ मङ्सिर ६ गते आइतवार

फूलको बजारीकरणमा स्थानीय सरकारको वेवास्ता : मूल्य निर्धारण र ठाउँ तोक्न माग


दाङ । तिहारलाई लक्षित गरी फूलखेती गरेका किसानलाई उत्पादनको बजारीकरणमा समस्या देखिएको छ । फूलको माग बढ्ने समयमा किसानले उत्पादन गरेको फूल बिक्री गर्न सहज बजार नपाउँदा किसानहरू निराश बनेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले फूलको मूल्य निर्धारण र बिक्रिस्थल तोक्न नसक्दा फूल बिक्रि गर्न समस्या भएको तुलसीपुर–८ अस्वारामा फूलखेती गरिरहनुभएका गणेश भण्डारीले बताउनुभयो ।

उहाँले करिब ७ कठ्ठा क्षेत्रफलमा फूल खेती गर्नुभएको छ । फूलको उत्पादन राम्रो भएपनि पालिकाले मूल्य निर्धारण गर्न नसक्दा बिक्रिमा समस्या भएको उहाँले बताउनुभयो ।

स्थानीय सरकारलाई पटक–पटक आग्रह गर्दापनि वेवास्ता गरेको उहाँको भनाई छ । ‘पालिकाले फूलको मूल्य निर्धारण गरेको भए हामीलाई बिक्रि गर्न पनि सहज हुने थियो । पालिकाले न मूल्य निर्धारण गर्‍यो, न त ठाउँ नै तोक्यो ।’ उहाँले भन्नुभयो–‘फूलको बजारीकरणमा उपमहानगरपालिकाले वेवास्ता नै गरेको छ, मैले धेरै पटक अनुरोध गरेँ, तर सुनुवाई भएन ।’

स्थानीयस्तरमा फूलखेतीलाई प्रोत्साहन गर्ने सरकारले नीति लिए पनि उत्पादनको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गर्न नसक्दा फूलखेती गरेका युवा निराश भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको तुलसीपुर मेट्रो कलेजमै अध्ययनरत विद्यार्थीले करिब ८ कट्ठा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । तर बजारीकरणमा समस्या रहेको विद्यार्थीले बताएका छन् ।

कलेजमा कानुन संकायमा चौथो वर्षमा अध्ययनरत दंगिशरण–५ की अविना गिरीले पालिकाले निश्चित ठाउँ निर्धारण गर्न नसक्दा अहिले बिरेन्द्र चोकमा बिक्रि गरिरहेको बताउनुभयो ।

मूल्यपनि आफुखुशी ढंगले गर्नुपरेको उहाँको गुनासो छ । ‘हामीले अहिले प्रतिकेजी ३ सयदेखि साढे ३ सयसम्ममा बिक्रि गरिरहेका छौँ , तर कतिपयले ६ सय प्रतिकेजीमा पनि बिक्रि गरिरहेका छन् ।’ मूल्यमा एकरुपता हुन नसक्दा उपभोक्ता पनि मारमा परेका छन् ।

फूल बिक्रीका लागि पालिकाले निश्चित स्थान तोकिदिनुपर्ने र मूल्य पनि निर्धारण गरिदिनुपर्ने उहाँको माग छ । पालिकाले फूलको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँले बताउनुभयो । तुलसीपुरमा गतवर्षभन्दा यसवर्ष फूलखेती पनि धेरै छ । तर बजारीकरणमा स्थानीय सरकारले चासो नदिएको किसानको गुनासो छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस