तुलसीपुर । सुन्दर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तुलसीपुरको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ ।
वि.सं २०७५ सालमा निर्माण समितिमार्फत खानेपानी सेवा शुभारम्भ गरेको संस्थालाई प्रथम अधिवेशनसँगै नेपाल सरकारको नीतिअनुसार सम्बन्धित उपभोक्ता संस्थालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
समितिका अध्यक्ष चेतबहादुर जिसीको अध्यक्षता तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख प्रकाशजंग शाहको प्रमुख आतिथ्यतामा एवम् तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ वोकटीमा कार्यालय रहेको संस्थाले डिप बोरिङमार्फत वडा नम्बर ७ र वडा नम्बर ४ को तल्लो हलवारलगायतका क्षेत्रमा खानेपानी सेवा विस्तार गर्दै आएको छ । हाल संस्थाले ६ सय ४३ वटा धारा वितरण गरिसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख प्रकाशजंग शाहले सस्तो लोकप्रियताभन्दा आवश्यकताका आधारमा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारको ‘एक घर, एक धारा’ नीतिलाई आत्मसात् गर्दै सोहीअनुसार संस्थाले आफ्ना कार्यक्रम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउन कार्यालय प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले यस क्षेत्रमा खानेपानी विस्तारका लागि विगतमा गरिएका प्रयासको स्मरण गर्दै संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने सम्पूर्ण पदाधिकारी तथा सञ्चालक समितिलाई धन्यवाद दिनुभयो ।

सामाजिक संघसंस्थाको नेतृत्वमा आउने व्यक्तिहरू निःस्वार्थ भावनाका साथ सामाजिक सेवामा समर्पित हुनुपर्ने उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार स्थानीय सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका पूर्वप्रमुख तिलक न्यौपाने, शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऋषिराज पोखरेल,ज्ञानज्योति फाउन्डेसनका संस्थापक टीकाबहादुर जिसी, ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, समाजसेवी रामप्रसाद शर्मालगायतले खानेपानी व्यवस्थापनको दिगोपनालाई मुख्य चुनौतीका रूपमा औँल्याउनुभयो । हाल डिप बोरिङमार्फत खानेपानी वितरण भइरहेको भए पनि यसको दीर्घकालीन विकल्प खोज्नुपर्नेमा उहाँहरूले सुझाव दिनुभएको थियो । साधारणसभामा वार्षिक प्रतिबेदन सचिव चुमानसिंह केसी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष नारायण जि.सीले प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष वुद्धिराम भुषालको स्वागत मन्तव्यबाट सूर भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष नारायण जि.सीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन अध्यक्ष चेत बहादुर जिसीले गर्नुभएको हो ।
यसैबीच, अधिवेशनले दोस्रो कार्यकालका लागि पुनः चेतबहादुर जिसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा बुद्धिराम भुसाल, सचिवमा चुमान सिंह केसी, सहसचिवमा सरिताकुमारी आचार्य, कोषाध्यक्षमा नारायण जिसी र सहकोषाध्यक्षमा ईश्वरीप्रसाद पौडेल चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा निन्द्रा पौडेल, भेगप्रसाद भण्डारी, कमानसिंह विक, भूमा विक र दिलमाया परियार चयन हुनुभएको छ ।


























