दाङ । दाङमा असोज महिनामा एक हजारभन्दा बढीले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङको मासिक प्रगति विवरणअनुसार एक महिनाको अवधिमा दाङका तीनवटा प्रशासन कार्यालयबाट एक हजार ३ जनाले नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय घोराहीबाट ३३६, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ३८१ र लमहीबाट २८६ गरी एक हजार ३ जनाले नागरिकता लिएका हुन् । तथ्यांकअनुसार इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सबैभन्दा बढी नागरिकता वितरण भएको छ ।
यसैगरी असोज महिनामा तीन जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् भने दुई जनाले नेपाली नागरिकता त्याग गरेका छन् ।
नागरिकतासँगै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या पनि उल्लेख्य देखिएको छ । एक महिनाको अवधिमा दाङबाट १ हजार ५७० जनाले ई–पासपोर्टका लागि नामांकन गराएका छन् भने ६३१ जनालाई ई–पासपोर्ट वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ ।
त्यस्तै असोज महिनामा दाङका तीनवटै प्रशासन कार्यालयबाट ३ हजार ८१० जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जसमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीबाट १ हजार २२३, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट १ हजार ५९५ र इलाका प्रशासन कार्यालय लमहीबाट ९९२ जनाले विवरण दर्ता गराएका हुन् ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनेमा पनि इलाका प्रशासन कार्यालय तुलसीपुर अगाडि देखिएको छ । तीनवटै प्रशासन कार्यालयबाट नागरिकता वितरण तथा प्रतिलिपि, नाबालक परिचयपत्र, संस्था दर्ता तथा नवीकरणलगायतका सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालय दाङको मासिक प्रगति विवरणमा उल्लेख छ ।


























