तुलसीपुर । अर्गानिक खाद्यान्नप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै दाङको तुलसीपुरमा ‘टिमुरघर’ सञ्चालनमा आएको छ । दुई जना चार्टर्ड एकाउन्टेन्ट (सीए) सहित तीन युवाको पहलमा उक्त व्यवसाय सुरु गरिएको हो ।
चार्टर्ड एकाउन्टेन्ट घनश्याम सापकोटा, दिपेन्द्र न्यौपाने र युवा व्यवसायी रमेश पौडेलको संयुक्त लगानीमा ‘टिमुरघर’ सञ्चालनमा ल्याइएको हो । बजारमा स्वस्थ्यकर तथा अर्गानिक खाद्य सामग्रीको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै बजार अध्ययनपछि व्यवसाय सुरु गरिएको सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।
करिब २५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको टिमुरघरमा विभिन्न जिल्लाबाट संकलित अर्गानिक खाद्यान्न उपलब्ध छन् । जुम्लाको प्रसिद्ध मार्सी चामल, सल्यानको टिमुर र बेसार, रुकुमको सिमी, अलैंची, तोरीको तेल, कोदो, फापर, सातु, अमलाको चाना लगायतका सामग्री यहाँ पाइने बताइएको छ ।
सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको टिमुरघरमार्फत पाँच जना महिलाले प्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका छन् । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्यका साथ व्यवसाय अघि बढाइएको सञ्चालकले बताएका छन् ।














