२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुरमा जथाभावी फोहोर फाल्नेलाई कारवाही गरिने, १६ ठाउँमा सचेतना बोर्ड

दाङ । तुलसीपुर उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थलहरूमा हुने अत्यधिक फोहोरलाई नियन्त्रण गर्न सक्रियता देखाएको छ । उपमहानगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाले नगरका १६ वटा मुख्य तथा बढी फोहोर हुने क्षेत्रहरू पहिचान गरी सचेतनामूलक होर्डिङ बोर्डहरू राखेको छ ।

शाखा प्रमुख रेवा रावतका अनुसार विशेषगरी आलु मण्डी, बसपार्क, पातुखोला पुल माथिको तरकारी बिक्रीस्थल, अटो भिलेज, लक्ष्मी सनराइज बैंक अगाडिको क्षेत्र र सल्यान रोडस्थित ट्याक्सी पार्कलगायतका स्थानहरूमा यस्ता बोर्डहरू राखिएका छन् ।

ति क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति हुने र फोहोर व्यवस्थापनमा चुनौती देखिएकाले नागरिकलाई सचेत गराउन यस्तो कदम चालिएको हो ।

तुलसीपुर उपमहानगरपालिका सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुख रेवा रावतले सार्वजनिक सूचनाको बेवास्ता गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले अब उप्रान्त तोकिएको स्थानभन्दा बाहिर जथाभावी फोहोर फाल्ने, फोहोर जलाउने तथा ढल वा नालामा शौचजन्य फोहोर मिसाउने व्यक्ति वा संस्थालाई कडा कानुनी कारवाही गरिने बताउनुभयो ।

नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा स्थानीय बासिन्दा, व्यवसायी र सरोकारवालाहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन बमोजिम जरिवाना समेत गरिने चेतावनी दिएको छ । बजार क्षेत्रको वातावरणीय स्वच्छता कायम राख्न अहिले सचेतना बोर्ड राखिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस