२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुर नगर जेसिसद्वारा जेसीस बाटिका’ उद्घाटन तथा भानुभक्त आचार्यको शालिक अनावरण


दाङ । तुलसीपुर नगर जेसिसले ‘जेसिस बाटिका’ उद्घाटन र आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण तथा हस्तान्तरण कार्यक्रम गरेको छ ।

आज बिहिबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यानमा निर्माण गरिएको आचार्यको शालिक अनावरण तथा हस्तान्तरण गरेको हो ।

तुलसीपुर नगर जेसिस वर्ष २०२६ का अध्यक्ष कमल प्रकाश शर्माको अध्यक्षता तथा राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष रामबहादुर जिसी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्धेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको योगदानकोे चर्चा गर्नुभएको थियो । साथै उहाँले भानुभक्तको सालिक मध्यपश्चिम क्षेत्रमा कतैपनि निर्माण नभएको अवस्थामा जेसिजले पहल गरेर सालिक स्थापना गर्नु ऐतिहासिक कार्य रहेको बताउनुभयो ।

विशिष्ट अतिथि तुलसीपुर–७ का अध्यक्ष जिसीले जेसिसले गर्दै आएका कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो । उहाँले युवाहरूको नेतृत्व विकाससँगै समाज परिवर्तनमा जेसिसको भूमिका महत्वपूर्ण रहेको र जेसिसका गतिविधिहरूलाई आफूले नजिकबाट अवलोकन र अनुभव गर्न पाएको बताउनुभएको हो । आगामी दिनमा पनि जेसिससँग सहकार्य गरेर विभिन्न सामाजिक कार्यहरुमा सहभागी भई हातेमालो गर्दै जाने उहाँको भनाई छ ।

जेसीजका अध्यक्ष शर्माले तुलसीपुर नगर जेसिसले विगतका वषहरुदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजीक कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले जेसिस युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने सशक्त सञ्जाल भएको बताउँदै तुलसीपुर क्षेत्रमा धारा निर्माण, प्रतिक्षालय निर्माण लगायतका गतिविधिमा जेसिस सक्रिय रहेको जानकारी दिनुभयो । साथै उहाँले गणेशपुर पार्कमा जेसिस बाटिका र भानुभक्तको शालिक निर्माण गर्न पाउँदा आफूहरू एकदमै खुसी रहेको बताउनुभयो । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

शालिक निर्माणका लागि अमेरिकामा रहेका सुरेश हमाल (बेगबहादुर) ले आर्थिक सहयोग गरेको जेसिसका अध्यक्ष शर्माले जानकारी दिनुभयो । कार्यक्रममा त्रिसिद्धेश्वरी यातायात प्रणाली तुलसीपुरका अध्यक्ष सुरेश हमाल, राप्ती शान्ति उद्यानका अध्यक्ष सुधीर केसी, गणेश सामुदायिक वनका अध्यक्ष डिल्लीराज भण्डारी, समाजसेवी लक्ष्मी हमाल, जेसिसका पूर्व अध्यक्ष पूर्ण बिक्रम डाँगी, झरेन्द्र खरेल, पत्रकार नारायण खड्का लगायतले जेसीजले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा जेसिस आस्था पाठ शैलेन्द्र ओलीले वाचन गर्नुभएको थियो । जेसिसका कार्यक्रम संयोजक दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव झगुप्रसाद सापकोटाले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस