२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ


दाङ । दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २० वर्षका विकास बुढा मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार राति साढे १० बजेतिर तुलसीपुर–४ मिलनचोक क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा विकासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट गोठीखोला तर्फ जाँदै गरेको रा ४ प ६६९७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मगरलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा मगर बसोबास रहेको कोठाबाट ८ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध ओसारपसार तथा सम्भावित कारोबारमा प्रयोग भएको आशंकामा विभिन्न कम्पनीका ३ थान मोबाइल फोन, नगद २ हजार २ सय तथा प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय दाङले सञ्चालन गरिरहेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत पछिल्लो समय थप कडाइ गरिएको छ । सोही अभियानअन्तर्गत हिजो मात्र २७ जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्क्यानिङ भैरहेको गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस