दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, सगरमाथा टोल विकास संस्था अन्तर्गतको बौराही सोतामा पक्की पुल निर्माण र सडक पूर्वाधारको माग गर्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
बिहीबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गरी सगरमाथा टोल विकास संस्थाको तर्फबाट मागपत्र प्रस्तुत गरिएको हो । सो मागपत्रमा बौराही सोतामा पक्की पुल निर्माण र करिब ३०० मिटर सडक कालोपत्रे गर्ने योजनालाई प्रदेश सरकारको आगामी बजेटमा समावेश गर्न अनुरोध गरिएको छ ।
सोही अवसरमा टोलीले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई पनि भेटेर योजनाको आवश्यकता र औचित्यबारे जानकारी गराउँदै मागपत्र पेश गरेको छ ।
मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्य र मन्त्री ढकालले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिनुभएको छ ।
योजना मागका लागि पुगेको टोलीलाई मुख्यमन्त्रीका प्रेस संयोजक एवं पत्रकार दशरथ घिमिरे र पत्रकार महेश रिजालले सहजीकरण गर्नुभएको हो । डेलिगेसन टोलीमा सगरमाथा टोल विकास संस्थाका वरिष्ठ सल्लाहकार ईश्वरी भण्डारी लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बौराही सोतामा पुल नहुँदा वर्षायाममा स्थानीय बासिन्दा र पैदलयात्रीले सास्ती खेप्दै आएका छन् ।



















