घोराही । दाङको घोराहीमा स्थानीय उत्पादनको बजारीकरण तथा युवा उद्यमशीलताको विकासलाई लक्ष्य गर्दै ओमेटो ग्रुपद्वारा सञ्चालित ओमेटो मार्केट प्लेसको १३औँ शाखा उद्घाटन गरिएको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित पाठक चोक नजिक सञ्चालनमा ल्याइएको शाखाले कृषि तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै युवालाई सीप, अवसर र बजारसँग जोडेर रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने बनाउने उद्देश्यसहित शाखा सञ्चालनमा ल्याइएको बताइएको छ।
प्रमोटर तथा व्यवसायी घनश्याम भण्डारीको पहलमा सञ्चालनमा आएको शाखापछि तुलसीपुरमा समेत शाखा विस्तारको तयारी तीव्र पारिएको कम्पनीले जनाएको छ।
कम्पनी प्रतिनिधि गिरिराज लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे र ओमेटो ग्रुपका सिइओ सागर पोखरेल विशिष्ट आतिथ्यतामा भएको हो ।
प्रमुख अतिथि जोशीले स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई उपभोक्तासम्म पुर्याउन ओमेटो ग्रुप प्रभावकारी माध्यम बनेको बताउनुभयो। उहाँले सरकारका नीति तथा कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याएर आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमै विदेशी नागरिकहरू श्रम गर्न आउने वातावरण सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
ओमेटो ग्रुपका सिइओ सुभाष पोखरेलको स्वागत मन्तव्य तथा विषय प्रवेशबाट सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा पहिलो स्टार्टअप तथा प्रमोटरतर्फ घोराही कस्टमर सेन्टरका घनश्याम भण्डारी, रुकुम शाखाबाट उत्कृष्ट योगदान पुर्याउने व्यवसायी नगेन्द्र केसी तथा उत्कृष्ट कर्मचारी पुष्पा बोहरा रहनुभएको थियो।
यस्तै शाखा सञ्चालन तथा पश्चिम क्षेत्र विकासमा योगदान पुर्याएबापत रामचन्द्र खड्का, कृष्णदेवी पौडेल, मेटो दिपा थापा, प्रमोटर शेयर सदस्य घनश्याम भण्डारी, सन्दीप केसी लगायतलाई सम्मान गरिएको थियो।















