२०८३ जेष्ठ ४ गते सोमवार

लमहीका प्रमुख प्रशासकिय अधिकृत डाँगीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दा दायर

दाङ । झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बहालवाला उपसचिवसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आम्दानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले दाङ लमही नगरपालिकाका बहालवाला प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीसहित नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारीविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै, लेखा अधिकृत हरिबहादुर क्षत्री (दिवंगत) र सहलेखापाल खड्कबहादुर रानालाई अख्तियारले प्रतिवादी बनाएको छ ।

आपसी मिलेमतो र योजनामा नगर विकास समितिको आर्थिक वर्ष ०७६/७७, ०७७/७८, ०७८/७९, ०७९/८० र ०८०/८१ को आम्दानी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। भाडाबापत समितिमा असुली रसिदबाट चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ राजस्व आम्दानी भएको थियो ।

उक्त रकम समितिको राजस्व खातामा दाखिला गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र समितिको खातामा दाखिला गरेर बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

प्रतिवादीहरूले राजस्व हिनामिना गरेपछि कसुरबाट बच्न उक्त रकम बैंक दाखिला भएको देखिने गलत विवरणसहितको आयव्याय विवरण तयार गरी अनुमोदनका लागि समितिको बैठकमा पेस गरेको देखिएको छ । समितिको बैठकबाट त्यसबारे निर्णयसमेत भएको अख्तियारको दाबी छ ।

अख्तियारले नगर विकास समितिका तत्कालीन सदस्य सचिवहरू ढकाललाई ६४ लाख २८ हजार ४३७, तिवारीलाई एक करोड चार लाख ७१ हजार ९४२ र डाँगीलाई ७२ लाख ७८ हजार ११० बिगो कायम गरेको छ । उनीहरू तीनैजना वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय हुँदा समितिको सदस्य सचिवको भूमिकामा रहेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

ढकाल हाल वैदेशिक रोजगार विभागको निर्देशक छन् भने तिवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशक रहनुभएको छ । डाँगी भने दाङको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । डाँगी यसअघि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत हुनुहुन्थ्यो ।

नगर विकास समितिका तत्कालीन लेखा अधिकृत क्षेत्रीविरुद्ध दुई करोड ९० लाख ९६ हजार ४४१ बिगो दाबी गरिएको छ । तर उहाँको निधन भएकाले उहाँकी पत्नी सीमाकुमारी चन्दलाई बिगो असुल प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएको छ । समितिका तत्कालीन सहलेखापाल खड्कबहादुर रानालाई दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो कायम छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस