२०८३ जेष्ठ १६ गते शनिवार

‘जर्नल अफ राप्ती बबई क्याम्पस’ विमोचन


दाङ । तुलसीपुरमा रहेकाे राप्ती बबई क्याम्पसले ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ अङ्क–६ विमोचन गरेको छ।

बुधबार क्याम्पसद्वारा आयोजित कार्यक्रममा अनुसन्धानमूलक तथा शैक्षिक विषयवस्तु समेटिएको उक्त जर्नल विमाेचन गरिएको हो।
सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता तथा तुल्सीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काकाे प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेकाे विशिष्ट अतिथ्यतामा विमोचन कार्यक्रम गरिएको हो।

विमाेचन कार्यक्रममा अनुसन्धान समिति संयोजक डा. प्रेमनाथ योगीका अनुसार जर्नलमा क्याम्पसका आन्तरिक अनुसन्धानकर्ताका ८ वटा तथा बाह्य अनुसन्धानकर्ताका ९ वटा गरी जम्मा १७ वटा अनुसन्धानात्मक लेख समावेश गरिएका छन्।


समसामयिक शैक्षिक, सामाजिक तथा अनुसन्धानमूलक विषयवस्तुलाई केन्द्रमा राखेर तयार पारिएको उक्त जर्नलले अनुसन्धान संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने याेगीले बताउनुभयाे ।


उहाँले विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा खोज तथा अनुसन्धानको महत्व बढ्दै गएको सन्दर्भमा पश्चिम नेपालकै अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित क्याम्पसले अनुसन्धानमुखी अध्ययन, लेखन तथा ज्ञान उत्पादनलाई संस्थागत गर्ने उद्देश्यले जर्नल प्रकाशनलाई निरन्तरता दिएको बताउनुभयो। आगामी दिनमा अझ गुणस्तरीय तथा प्राज्ञिक सामग्री समेटेर जर्नल प्रकाशन गरिने उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि टिकाराम खड्काले अनुसन्धानमूलक अध्ययन तथा प्रकाशनले समाज रूपान्तरण र ज्ञान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले जर्नल प्रकाशनलाई केवल औपचारिकतामा सीमित नराखी पठन संस्कृति, लेखन क्षमता तथा बौद्धिक बहसको विकाससँग जोड्न आवश्यक रहेको धारणा राख्नुभयो। जर्नललाई सिकाइ, अध्ययन तथा अनुसन्धानका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि केशवराज पार्धेले राप्ती बबई क्याम्पस यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यस्ता अनुसन्धानमूलक प्रकाशनले क्याम्पसको शैक्षिक विश्वसनीयता तथा प्राज्ञिक गरिमा थप उचाइमा पुर्‍याउने बताउनुभयो। नयाँ विषयमा हुने खोज तथा अनुसन्धानले शिक्षण–सिकाइ प्रणालीमा गुणात्मक परिवर्तन ल्याउन सक्ने भएकाले अनुसन्धानलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सञ्चालक समितिका उपाध्यक्ष मिनराज ओलीको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण सहायक उपप्राध्यापक यशोदा पाण्डेले गर्नुभएको थियो।


यसैबीच क्याम्पसमा कार्यरत उपप्राध्यापक सूर्यप्रसाद शर्मा लाई जेठ १ गतेदेखि लागू हुनेगरी विद्यावारिधि (पीएचडी) अध्ययनका लागि तलवी सुविधासहित अध्ययन विधा दिने निर्णय भएको क्याम्पस प्रमुख गणेश पार्धेले जानकारी दिनुभयो।

अनुसन्धान तथा उच्च शिक्षाप्रति प्राध्यापकहरूको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले क्याम्पसले उपलब्ध गराएको उक्त सुविधाको शैक्षिक वृत्तमा सकारात्मक चर्चा भइरहेको छ। शर्मा लामो समयदेखि अनुसन्धान तथा प्राज्ञिक अध्ययनमा सक्रिय रहँदै आउनुभएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस