सल्यान, १३ जेठ । कपुरकोट गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा निहित सिर्जनशीलता, वैज्ञानिक सोच र व्यावहारिक ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले कपुरकोटमा विशेष शैक्षिक कार्यक्रम गरिएको छ ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिका भित्रका १४ वटा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो नवप्रवर्तनशील सोच, अनुसन्धानात्मक क्षमता र प्रयोगात्मक सिकाइको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउन र उनीहरूलाई अनुसन्धानमुखी शिक्षातर्फ आकर्षित गर्न यो कार्यक्रम गरिएको बताउनुभयो ।

‘किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूमा नवप्रवर्तनशील सोच, प्रयोगात्मक सिकाइ र अनुसन्धानप्रति रुचि अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो ।’ उहाँले भननुभयो–‘ यस किसिमका सिर्जनशील कार्यक्रमहरूले आगामी दिनमा पनि कपुरकोटको समग्र शैक्षिक गुणस्तर सुधारमा ठूलो टेवा पुर्याउने छ ।
कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले विद्यार्थीमा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ‘विज्ञानका विभिन्न सिद्धान्तहरु छन्, तर व्यवहारिक उपयोग हुँदैनन् ।’ उहाँले भन्नुभयो–‘दैनिक जीवनमा प्रयोग भइरहने वैज्ञानिक सिद्धान्तहरुलाई व्यवहारमा प्रयोग गर्ने, वैज्ञानिक चिन्तनको विकास गर्ने, नवपर्वतन र सिर्जनशिलताको विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

प्रतिस्पर्धात्मक तथा प्रेरणादायी वातावरणमा सञ्चालित उक्त प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच कडा प्रतिस्पर्धा भएको हो ।
प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै गर्ने विद्यालयलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौर प्रथम, गायत्री आधारभूत विद्यालय गाँडापानी द्वितीय, ब्लु डायमण्ड बोर्डिङ स्कूल कपुरकोट तृतीय भएका छन् ।
यस्तै जीवनज्योति नमुना मावि रिम र भवानी मावि छायानाथले सान्तोना स्थान हासिल गरेको पालिकाले जनाएको छ ।

प्रतियेगितामा प्रथम हुनेले क्रमश : २० हजार, १५ हजार, १० हजार र ७ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
वरिष्ठ शिक्षा अधिकृत प्रेम बहादुर विष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत निर्मल देवकोटाले गर्नुभएको हो ।
















