दाङ । दाङसहित देशका विभिन्न क्षेत्रमा फागुनदेखि वैशाखसम्म आएको हावाहुरी र असिनापानीका कारण यस वर्ष आँप उत्पादनमा क्षति पुगेको छ । आँप फुल्ने तथा साना दाना लाग्ने समयमा आएको हावाहुरी र असिनापानीका कारण बगैँचामा रहेका अधिकांश फल झरेपछि उत्पादन घट्ने देखिएको हो ।
यस वर्ष आँपका बोटमा राम्रोसँग फूल लागेको र उत्पादन पनि आशाजनक देखिएको थियो । तर लगातारको हावाहुरी र असिनापानीले फल झारिदिएपछि अधिकांश बोटमा निकै कम मात्रामा आँप बाँकी रहेको किसानहरूले बताएका छन्। कतिपय रुखमा त थोरै मात्रामा मात्र फल देखिएको छ ।
हरेक वर्ष हरियाली आँपले भरिभराउ देखिने बगैँचाहरू यसपालि सुनसानजस्तै देखिन थालेका छन् । उत्पादनमा आएको गिरावटले किसानहरू निराश बनेका छन् भने उपभोक्ताले पनि स्थानीय आँपको अभाव सामना गर्नुपर्ने संकेत देखिएको छ ।
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यस वर्ष दाङमा आँप उत्पादन गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशतसम्म घट्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उहाँका अनुसार आँपमा एक वर्ष राम्रो उत्पादन हुने र अर्को वर्ष स्वाभाविक रूपमा केही कमी आउने चक्र पनि रहने गर्छ । गत वर्ष उत्पादन राम्रो भएकाले यस वर्ष केही कमी आउने अपेक्षा रहे पनि हावाहुरी र असिनापानीले थप क्षति पुर्याएको उहाँले बताउनुभयो ।
दाङ विशेषगरी दशहरी जातको आँप उत्पादनका लागि परिचित जिल्ला हो । यहाँ उत्पादन हुने आँप स्थानीय बजारका साथै पोखरा लगायतका विभिन्न सहरमा समेत निर्यात हुने गरेको छ । तर उत्पादनमा आएको गिरावटका कारण यस वर्ष स्थानीय मागसमेत पूर्ण रूपमा धान्न कठिन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।
उत्पादन घटेसँगै बजारमा आँपको अभाव हुन सक्ने र मूल्य वृद्धि हुने सम्भावना देखिएको छ । वर्षभरिको मेहनत केही घण्टाको हावाहुरी र असिनापानीले नष्ट गरिदिँदा किसानहरू चिन्तित बनेका छन् । मौसमको बढ्दो अनियमितताले फलफूल खेतीमा प्रत्यक्ष असर पार्न थालेको भन्दै किसानहरूले कृषि बिमा तथा क्षति न्यूनीकरणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
















