दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरास्थित सरस्वती टोल विकास संस्थाका स्थानीयले लामो समयदेखि मर्मत नहुँदा जीर्ण बनेको सडकमा स्वतःस्फूर्त रूपमा ग्राभेल बिछ्याउँदै खबरदारी अभियान सञ्चालन गरेका छन्।
स्थानीयहरूले सुकाैरा रोडमा रहेका खाल्डाखुल्डी वर्षौंदेखि सम्बन्धित निकायहरूलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको आरोप लगाउँदै शनिबार बिहान कुटो, कोदाली, गैँती र बेल्चा लिएर सडक मर्मतमा जुटेका हुन्।
टोल विकास संस्थाका अध्यक्ष ईश्वरी खड्काका अनुसार सडक मर्मतका लागि पटक–पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर नागरिक तहबाटै दबाब स्वरूप यो अभियान सञ्चालन गरिएको हो।
“लामो समयदेखि सडक मर्मतका लागि ताकेता गर्दै आएका थियौं, तर जिम्मेवारी लिनुपर्ने निकायहरू पन्छिँदै आएपछि स्थानीय स्तरबाटै पहल गर्नुपरेको हो,” अध्यक्ष खड्काले बताउनुभयो।
स्थानीयहरूका अनुसार सडक छेउमै रहेको कुलोका कारण वर्षातको समयमा पानी बस्तीमा पस्ने तथा सडक थप क्षतिग्रस्त हुने समस्या देखिएको छ। सोही कुलोका कारण सडक छिट्टै बिग्रिने गरेको उनीहरूको भनाइ छ। स्थानीय गीता डाँगीले वर्षौंदेखि खाल्डाखुल्डीका कारण दैनिक आवतजावतमा कठिनाइ हुनुका साथै घरभित्र समेत धुलो पस्ने समस्या बढेको बताउनुभयो।
यस्तै, स्थानीय टोपबहादुर महतराले सबै तहका सरकारलाई जानकारी गराउँदा समेत “बजेट छैन” भन्ने जवाफ मात्र पाइएपछि बाध्य भएर सामूहिक रूपमा कालोपत्रे सडकमा ग्राभेल बिछ्याएर
खबरदारी अभियान चलाउनुपरेको बताउनुभयो।
महतराले नै ग्राभेलको व्यवस्थापन गर्नुभएको थियो भने सरस्वती टोल विकास संस्थाका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीयको पहलपछि सडक केही हदसम्म मर्मत भए पनि उनीहरूले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।


















