दाङ । दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । दाङको भालुबाङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ पर्चियाका ४२ वर्षीय साकिर खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
खान लागुऔषध ब्राउन सुगर बिक्री–वितरणका लागि भालुबाङतर्फ आउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक डा. केसीले जानकारी दिनुभयो ।
राप्ती गाउँपालिका–१ भालुबाङ क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला परेका खानको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा ६ ग्राम ७७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधसहित खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















