२०८३ जेष्ठ ३० गते शनिवार

तुलसीपुरमा लेखा व्यवस्थापन तथा कर नीति सम्बन्धी अभिमुखिकरण


दाङ । कम्पनी, उद्योग, फर्म तथा विभिन्न व्यवसायमा कार्यरत लेखा कर्मचारीहरूका लागि आज शुक्रबार तुलसीपुरमा लेखा व्यवस्थापन तथा कर नीति सम्बन्धी तालिम तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग वाणिज्य महासंघ तुलसीपुरको आयोजना, ग्रिन फाउन्डेसन नेपालको सहकार्य तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका आर्थिक विकास समितिका संयोजक माधव वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि वलीले तुलसीपुरलाई आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा शान्तिपूर्ण र बलियो बनाउन व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । तर, अझैसम्म पनि समाजमा व्यवसायीलाई हेर्ने दृष्टिकोण सही हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा व्यवसायीहरूमाथि प्रहार हुनु निकै दुःखद पक्ष रहेको उल्लेख गर्दै संयोजक वलीले लेखा व्यवस्थापन व्यवसायमा मात्र नभएर मानिसको दैनिक जीवनका लागि समेत उत्तिकै महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै अन्य व्यवसायीहरू माझ पनि बाँड्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले व्यवसाय तथा फर्महरू दिगो रूपमा सञ्चालन हुनका लागि आर्थिक पक्ष र यसको व्यवस्थापन बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

अभिमुखिकरण कार्यक्रमको प्रशिक्षकमा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, कर अधिकृत चिरञ्जीवी खड्का र लेखा विज्ञ बासुदेव आचार्य रहनुभएको थियो । उहाँहरूले कर नीति, आन्तरिक राजश्वका नियमहरू र वैज्ञानिक लेखा प्रणालीका विषयमा सहजीकरण गर्नुभएको छ ।

ग्रिन फाउन्डेसनका प्रतिनिधि गणेश भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्रबहादुर वलीले गर्नुभएको हो । तालिममा तुलसीपुर क्षेत्रका विभिन्न उद्योग, फर्म तथा कम्पनीमा कार्यरत लेखा कर्मचारी र व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस