२०८३ जेष्ठ ३१ गते आइतवार

पूर्वाधार विकासका १४ वटा आयोजनामा ७० करोड २५ लाख विनियोजन


दाङ, ३१ जेठ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सडक, पुल तथा सहरी पूर्वाधार विकासका १४ वटा आयोजनामा ७० करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

दाङ क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार विनियोजित बजेट मुख्य रूपमा सडक स्तरोन्नति, पुल निर्माण तथा सहरी पूर्वाधार विकासमा केन्द्रित रहेको छ ।

उहाँले तुलसीपुर उपमहानगरपालिका तथा दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक मर्मत, स्तरोन्नति र सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नं. ३ को विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सहरी सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि एक करोड ५० लाखका दरले कुल १० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

शान्तिनगर गाउँपालिकाको बस्ती विकास कार्यक्रम अन्तर्गत शान्तिनगर बजारको पूर्वाधार सुधारका लागि तीन करोड रुपियाँ छुट्याइएको छ । दङ्गीशरण गाउँपालिकाको खड्कपुर–पोटली झोलुङ्गे पुल निर्माणका लागि ५० लाख रुपियाँ, तुलसीपुरको मन्कापुर–कुइरेपानी झोलुङ्गे पुलका लागि २० लाख रुपियाँ तथा बबई गाउँपालिकाको चरकमटिया झोलुङ्गे पुल निर्माणका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको सांसद सुवेदीले जानकारी दिनुभयो ।

त्यसै गरी तुलसीपुर–१५, हापुरखोला पक्की पुल निर्माणका लागि तीन करोड रुपियाँ तथा शान्तिनगरको बहुलाखोला सडक पुल र चिराघाटखोला पुल निर्माणका लागि तीन करोड रुपियाँ बजेट छुट्याइएको छ ।

मुख्य सडक आयोजना अन्तर्गत सितलपुर–अमेलिया–तुलसीपुर सडकका लागि ३० करोड रुपियाँ र घोराही–तुलसीपुर सडकका लागि २० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसै गरी तुलसीपुर–दोघरे–प्रतापकोट–सल्यान सडकका लागि तीन करोड रुपियाँ तथा तुइसोता–गिधनिया पुल निर्माणका लागि २० लाख रुपियाँ बजेट छुट्याइएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस