२०८३ साउन २८ गते बिहिवार

नव आगन्तुक सदस्यलाई तालिम दिँदै सकियो तुलसीपुर नगर जेसीज सप्ताह


तुलसीपुर । तुलसीपुर नगर जेसीजले सप्ताहव्यापी कार्यक्रम नव आगन्तुक सदस्यहरूलाई नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी तालिम प्रदान गर्दै समापन गरेको छ ।

गत जेठ ३० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमको सातौं दिन आज (शुक्रबार) नव आगन्तुक सदस्यहरूलाई जेसीजको उद्देश्य, अनुशासन, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका विषयमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेलले जेसीज युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास र सामाजिक सेवामा सक्रिय बनाउने उत्कृष्ट विद्यालय रहेको बताउनुभयो ।

उहाँले जेसीजमा सिकेको नेतृत्व क्षमता जीवनका हरेक क्षेत्रमा उपयोगी हुने भन्दै सिक्ने संस्कृतिलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष कमल प्रकाश शर्माको अध्यक्षता तथा राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो ।

प्रमुख अतिथि भुसालले जेसीज युवाहरूको नेतृत्व विकासका लागि स्थापित विश्वव्यापी संस्था भएको उल्लेख गर्दै सक्षम नेतृत्व निर्माणका लागि जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष सूर्यप्रसाद शर्माले जेसीजले युवामा जिम्मेवारी र सेवाभावको भावना विकास गर्ने बताउनुभयो। पूर्व अध्यक्ष शालिकराम ओलीले सिकाइ र अभ्यासलाई सँगै अघि बढाउँदा मात्रै प्रभावकारी नेतृत्व विकास हुने उल्लेख गर्नुभयो ।

त्यस्तै पूर्व अध्यक्ष मेघराज घिमिरेले जेसीजले युवालाई अवसरसँगै चुनौती सामना गर्ने क्षमता प्रदान गर्ने धारणा राख्नुभयो भने पूर्व अध्यक्ष मोहन स्वर्णकारले सक्रिय सहभागिता नै सफल जेसीज यात्राको आधार भएको बताउनुभयो ।

पत्रकार वसन्त पौडेलले जेसीजले नेतृत्वसँगै सञ्चार, समन्वय र सामाजिक उत्तरदायित्वका क्षेत्रमा युवाहरूलाई सक्षम बनाउँदै आएको भन्दै यस्ता कार्यक्रमले नयाँ सदस्यहरूलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

सप्ताहव्यापी कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने मूल समितिका संयोजक सागर न्यौपाने, महासचिव सुशान्त सापकोटा तथा विभिन्न उपसमितिका संयोजकहरूलाई सम्मान गरिएको थियो ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष कमल प्रकाश शर्माले सात दिनसम्म सञ्चालन भएका सबै कार्यक्रम सदस्यहरूको सक्रिय सहभागिताका कारण सफलतापूर्वक सम्पन्न भएको बताउँदै आगामी दिनमा पनि युवामुखी र नेतृत्व विकासका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

पूर्व अध्यक्ष दिपेश भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण महासचिव सुशान्त सापकोटाले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस