दाङ । तुलसीपुरमा भुस्याह कुकुरको बिगबिगी अत्याधिक बढेको छ ।
छाडा कुकुरका कारण किसानले ठुलो क्षति बेहोर्न बाध्य छन् । कुकुरले बिहिबार मात्रै एउटा जिउँदै बोकाको मासु खाइदिएको छ । भुस्याह कुकुरले तुलसीपुर–७ तमाखे निवासी किशोर भण्डारीको बोकालाई आक्रमण गरेर पछाडीको खुट्टाको मासु खाइदिएको हो ।
दिउँसो करिब १२ बजेतिर कुकुरले खुट्टाको मासु खाएको र भुँडीमा पनि गम्भिर चोट पुर्याएको पिडित किसान भण्डारीले बताउनुभयो । कुकुरले आक्रमण गरेर बोकालाई घाइते बनाएको छ ।
वडा नम्बर ७ मा भुस्याह कुकुरले किसानले पालेका बाख्रामाथि निरन्तर आक्रमण गरिरहेका छन् । गत साउन २ गते मात्रै घुसेरीमा भुस्याह कुकुरले दुई वटा बाख्रालाई मारेको थियो ।
छाडा कुकुरले बाख्रामाथि आक्रमण गर्न थालेपछि किसान चिन्तित भएका छन् । घरमा कोही नभएको अवस्थामा कुकुरले बाख्रामाथि आक्रमण गर्न थालेपछि किसानले कुकुरलाई नियन्त्रण गर्नुपर्ने माग राखेका छन् । गत वर्ष पनि करिब १० जना किसानका बाख्रालाई भुस्याह कुकुरले आक्रमण गरेर क्षति पुर्याएको थियो ।



















