दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित कालखोला (रानीघाट) शबदाहस्थलमा अस्थायी टहरा निर्माण गरिएको छ । चिता जलाउने ठाउँमा टहरा नहुँदा वर्षातको समयमा समस्या भइरहेको अवस्थामा अहिले अस्थायीरुपमा समस्या समाधान गरिएको हो ।
शबदाहस्थल गतवर्ष मात्रै अज्ञात समुहले टहरा भत्काएको थियो । शबदाहस्थल स्थानान्तरण गर्नुपर्ने बहस चलिरहेका बेला अज्ञात समुहले टहरा भत्काएको थियो ।
टहरा भत्कीएपछि वर्षायाममा शब जलाउन समस्या थियो । तत्कालका लागि अहिले अस्थायीरुपमा समस्या समाधान भएको स्थानीयले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको बन, वातावरण तथा विपद व्यवस्थापन शाखाबाट बजेट व्यवस्थापन गरि अस्थायी टहरा निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले जानकारी दिनुभयो । टहरा निर्माणका लागि नगरको विपद व्यवस्थानबाट १ लाख ३९ हजार ९२ रुपैँया बजेट व्यवस्थान गरिएको हो । नगरको गत साउन ६ गते बसेको विपद व्यवस्थापन समितिको बैठकले रानीघाट खोलामा शबदाहस्थलमा अस्थायी टहरा निर्माण गर्ने निर्णय गरेको थियो ।
शबदाहस्थलमा अस्थायी टहर निर्माण गर्न गैराखाली सामुदायिक बनलाई जिम्मेवारी प्रदान गरिएको थियो । वडा नम्बर ७ को सहजीकरणमा उपमहानगरपालिकाबाट बजेट व्यवस्थापन गरेर अस्थायीरुपमा टहरा निर्माण गरिएको बन समुहका अध्यक्ष हुम बहादुर भण्डारीले जानकारी दिनुभयो । कालाखोला शबदाहस्थल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ सहित ६ र ५ नम्बर वडावासीको साझा आर्यघाट हो ।













