२०८३ साउन १७ गते आइतवार

तुलसीपुरमा स्कुल बस रोकी विद्यार्थीमाथि कुटपिट गर्ने एक जना पक्राउ


दाङ । दाङको तुलसीपुरमा स्कुल बस रोकेर विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं. ५, नौवस्ता बस्ने १८ वर्षका सुदिन गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गिरीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेमबहादुर केसीका अनुसार बिहिबार बिहान पौने १० बजेतिरको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ०८, गहतेखोलास्थित सडकमा तुलसीपुरबाट भमकेतर्फ विद्यार्थी लिएर जाँदै गरेको रा १ ख ४६१ नम्बरको ग्रेट अरनिको स्कुलको बसलाई लु प्र ०२ ००१ प ७६४१ नम्बरको मोटरसाइकलमा आएका सुदिन गिरी र उनका साथी जेनिसले रोकेका थिए ।

बस रोकेपश्चात् उनीहरूले बसभित्र प्रवेश गरी कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीमाथि कुटपिट गरेका थिए ।

प्रहरी टोलीले घटनामा संलग्न गिरीलाई पक्राउ गरेको हो । घटनामा संलग्न अर्का व्यक्ति (जेनिस) को खोजी तथा घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता केसीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस