२०८३ साउन २३ गते शनिवार

सहकारीको प्रवद्र्धन र सुशासनका लागि दाङमा समन्वय बैठक : कोपोमिस प्रणाली कार्यान्वयनमा जोड


दाङ । सहकारीको प्रवद्र्धन र सुशासनका लागि शुक्रबार दाङमा समन्वय बैठक बसेको छ । जिल्ला सहकारी संघ लिमिटेड दाङको आयोजनामा जिल्लाका विभिन्न पालिकाका सहकारी शाखा प्रमुख तथा सरोकारवालाहरूको सहभागितामा समन्वय बैठक बसेको हो ।

सहकारी संस्थाहरूलाई सदस्य–केन्द्रित, सुशासनयुक्त र समुदायप्रति उत्तरदायी बनाएर सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जिल्ला सहकारी संघ लिमिटेडका महासचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

राज्यको पुनःसंरचनापछि दाङका ५ सयभन्दा बढी सहकारी संस्थाहरूको नियमन क्षेत्राधिकार स्थानीय तहमा परेको छ । तर, स्थानीय तहले विषयको गम्भीरतालाई पूर्ण रूपमा बुझ्न नसक्दा प्रवद्र्धन, क्षमता विकास र नियमन प्रभावकारी हुन नसकेको र सहकारीमा समस्या देखिएको भन्दै विद्यमान स्थितिमा सुधार ल्याउन बैठक आयोजना गरिएको संघका अध्यक्ष हेमराज गौतमले स्पष्ट पार्नुभयो ।

घोराहीस्थित होटल कौसीमा सम्पन्न बैठकमा जिल्लाका १० वटै पालिकाका सहकारी शाखा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकले जिल्लामा सहकारी सञ्चालन, अध्यावधिक, प्रवद्र्धन, अनुगमन तथा कानून निर्माणमा पालिका र संघहरूबीच समन्वय एवं सहकार्य गरी एकरूपता ल्याउने, प्रत्येक ३/३ महिनामा फरक–फरक पालिकाहरूमा यस प्रकारको समन्वय बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी सहकारी संस्थाहरूले तयार पार्ने लेखापरीक्षण प्रतिवेदनमा एकरूपता कायम गर्न लेखापरीक्षकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

यस्तै कानूनी व्यवस्था अनुसार सहकारीहरूलाई नियामक निकायमा अध्यावधिक गराउन सहजीकरण गर्ने तथा सहकारी तथा गरिबी सम्बन्धि सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा आबद्ध गराई सदस्यहरूको विवरण प्रविष्टि र मासिक विवरण पठाउने कार्यमा संघहरूले सहजीकरण गर्ने निर्णय भएको छ ।

घोराही उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम के.सी. र संघको समन्वयमा सञ्चालित बैठकमा तुलसीपुर उपमहानगरपालिका सहकारी शाखाका ललित बहादुर घर्ती, दंगीशरणका यादव बहादुर डाँगी, बबईका तेजेन्द्र घर्ती, शान्तिनगरकी सुप्रभा भण्डारी, बंगलाचुलीकी कल्पना के.सी. लगायतका शाखा प्रमुखहरूको उपस्थिति थियो ।

त्यस्तै, जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतम, वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव शुक्रराज भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विमल अधिकारी र जिल्ला कृषि सहकारी संघकी अध्यक्ष पद्मा आचार्यको समेत सहभागिता रहेको थियो ।

घोराही–लमही सडक खण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएकाले देउखुरी क्षेत्रका पालिकाहरूका प्रतिनिधि भने सहभागी हुन सकेनन् । आगामी बैठक दंगीशरण गाउँपालिकामा बस्ने गरी दंगीशरणका शाखा प्रमुख यादव बहादुर डाँगीले आमन्त्रण गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस