दाङ, २ भदौ ।
तुलसीपुरको बसपार्कदेखि पश्चितिर पातुखोला छेउको टहराबाट किसानले कृषि उपज बिक्रि गर्न नपाएको गुनासोपछि तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा र उपभोक्ता हित संरक्षण शाखाले आवश्यक सहजीकरण गरेको छ ।
टहरास्थलमै पुगेर तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा प्रमुख कुलराज चौधरीले किसानलाई टहरामै बसेर व्यवसाय गर्न आग्रह गर्नुभएको छ । उहाँले किसानका लागि आवश्यक बोर्ड राखिदिने पनि बताउनुभयो ।
उहाँले टहरालाई थप व्यवस्थित बनाउनका लागि चालु आर्थिक वर्षमा पनि २०लाख बजेट रहेको बताउनुभयो । उहाँले अब लगत्तै टेण्डर आव्हान गरी थप व्यवस्थित बनाउन प्रक्रिया अघि बढाउने बताउनुभयो ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले किसानलाई टहरामै बसेर कृषि उपज बिक्रि गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायी र किसान एक आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।






















