दाङ। दाङमा ट्याक्टर र अटो एक आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ । सर्रा–सौडियार सडकअन्तर्गत सर्राबाट बसन्तापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १९२९ नम्बरको अटो र सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९को ट्याक्टर घोराही उपमहानगरपालिका–७ बेसाहीमा बुधबार बेलुकी ८ बजेतिर एक आपसमा ठोक्किँदा अटो चालक घोराही–५ बसन्तापुर निवासी ४५ वर्षीय विनोद पौडेल गम्भीर घाइते हुनुभएको थियो ।
दुर्घटनामा गम्भीर घाइते पौडेलको कोहलपुर मेडिकल कलेजमा उपचार क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । पौडललाई प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो ।
डिएसपी केसीका अनुसार दुर्घटनामा अटोमा सवार घोराही–५ बसन्तापुर निवासी ४० वर्षीय खिमराज केसी र सोही ठाउँ निवासी ४० वर्षीय तिलक केसी घाइते भएको र उहाँहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालक घोराही–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिइ घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















