दाङ । दाङमा प्रहरीले चार दिनको अवधिमा अवैध ३७ थान भरुवा बन्दुक बरामद गरेको छ । भदौको १ गतेदेखि ४ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न जंगलहरूको झाडीमा लुकाई राखिएका ३७ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
जिल्लाका विभिन्न स्थानका जंगलमा भरुवा बन्दुक लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा भदौको १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनबाट खटिएका प्रहरी टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखिएका बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ भित्री खोला सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक २ नाल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बङ्गलाचुली गाउँपालिका–४ भुमेबराह सामुदायिक वनबाट ४ थान, ल्वाङे भत्कुले सामुदायिक वनबाट १ थान र वडा नं। ५ तल्लो मुर्कुटीबाट २ थान गरी जम्मा ७ नाल बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बन्गैबाट खटिएको टोलीले लमही नगरपालिका–७ बन्गै स्थित स्वर्गद्वारी सामुदायिक वनबाट ९ नाल बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१४ दिव्यज्योति सामुदायिक वनबाट १ नाल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका वडा नं. ५ चक्ला राष्ट्रिय वनबाट १ नाल र अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको टोलीले लमही नगरपालिका–१ सुन्डबरी सामुदायिक वनबाट ४ नाल बरामद गरेको छ । प्रहरी चौकी पुरन्धारबाट खटिएको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल बरामद गरेको छ भने प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बङ्लाचुली गाउँपालिका–८ हंसपुर दैले ढुङ्गा सामुदायिक वनबाट ५ थान र वडा नं ३ भेडाबारी राष्ट्रिय वनबाट २ थान गरी जम्मा ७ नाल बरामद गरेको छ ।
प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले घोराही–१९ बाम्ला स्थित पालुङ सामुदायिक वनबाट १ नाल र प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले तुल्सिपुर उपमहानगरपालिका–१ छोटे स्थित नबदुर्गा सामुदायिक वनबाट १ नाल बरामद गरेको छ ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर–३ कालामारी जंगलबाट २ नाल र अस्थायी प्रहरी पोष्ट छिल्लीकोटबाट खटिएको टोलीले तुलसीपुर –१९ सुङ्गुर खोला स्थित कालिका सामुदायिक वनको ओडारमुनिबाट १ नाल बरामद गरेको छ । बरामद भएका सबै भरुवा बन्दुकसँग सम्बन्धित थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






















