२०८३ भाद्र २७ गते शनिवार

सल्यान दुर्घटना अपडेटः तिन जनाको मृत्यु


दाङ । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वली रहेका छन् ।

दुई जनाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो भने डिल्लीबहादुरको दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तिन जना घाइते भएका छन् ।

घाइतेमध्ये जिप चालक त्रिवेणी गाउँपालिका–५ सिंखका २४ वर्षीय भुपाल पुनको अवस्था गम्भीर रहेको छ । उहाँको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यस्तै त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ का करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते तिनैै जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखमा आज शनिबार बिहान ८ बजेतिर दुर्घटना भएको हो । सिंखबाट लुहाम हुँदै दाङतर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस