दाङ । मोटरसाइकलको चक्कामा दुपट्टा बेरिँदा दाङका एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाका ३५ वर्षीया जीता केसीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार केसी तीज मनाउन माइतीघर जाने क्रममा भदै कृष्ण केसीले चलाएको रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो ।
मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला केसीले लगाएको सलवार सुटको दुपट्टा पछाडिको चक्कामा बेरिएपछि उहाँ मोटरसाइकलबाट सडकमा खस्नुभएको थियो ।
दुपट्टा चक्कामा बेरिएपछि मोटरसाइकलले केहीबेरसम्म उहाँलाई सडकमा लतारेको प्रहरीले जनाएको छ । चालकले मोटरसाइकल चलाउँदा केही अप्ठ्यारो महसुस गरे पनि तत्काल रोक्न नसकेको र केहीबेरपछि मोटरसाइकल रोकेर हेर्दा केसी सडकमा लतारिएको अवस्थामा भेटिनुभएको थियो ।
प्रहरी नायव निरीक्षक मानबहादुर घर्तीका अनुसार दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले केसी मोटरसाइकलबाट पल्टिनुभएको देखिएको छ । उहाँको घाँटीमा कसिएको दुपट्टा तत्काल काटिए पनि घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
दुर्घटना आज शनिबार दिउँसो पौने १ बजेतिर त्रिवेणी–३ टाट्केस्थित भित्री कच्ची सडकखण्डमा भएको हो । केसीलाई तीजका लागि माइतीघर लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । – सेतोपाटी

























