दाङ । दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको बैंक खाता सञ्चालनमा समस्या आएपछि संस्थाभित्र विवाद देखिएको छ । बैंक खाता सञ्चालनमा समस्या आएपछि संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारीले भदौ ३१ गते पदबाट राजीनामा दिनुभएको छ ।
संस्थाका अध्यक्ष सनमकुमार पौडेलले भने कोषाध्यक्ष भण्डारीको व्यक्तिगत बैंकिङ कारोबारका कारण संस्थाको बैंक खाता सञ्चालनमा समस्या आएको बताउनुभएको छ । अध्यक्ष पौडेलका अनुसार आफूहरू निर्वाचित भएर आएको आगामी पुसमा दुई वर्ष पुग्दैछ । नौ जना पदाधिकारी निर्वाचित भएर आएपछि संस्थाका २३ वटा बैंकमा रहेका खाता नयाँ कार्यसमितिको नाममा सार्नुपर्ने भए पनि हालसम्म आठ वटा बैंकका खाता मात्रै सञ्चालनमा आएका थिए ।
उहाँका अनुसार अन्य बैंकका खाता पूर्वअध्यक्ष र कोषाध्यक्षबाट आवश्यक प्रक्रिया पूरा गरी सार्न नसकिएको हो । कोषाध्यक्ष भण्डारीको व्यक्तिगत बैंक खाता कालोसूचीमा परेकाले त्यसको असर संस्थाको बैंकिङ कारोबारमा समेत परेको अध्यक्ष पौडेलको दाबी छ ।
अध्यक्ष पौडेलले संस्थाका सबै खाता सञ्चालनमा ल्याउन कोषाध्यक्षलाई पटक–पटक आग्रह गरिएको र यो विषय साधारणसभामा समेत उठ्ने गरेको बताउनुभयो । समस्या समाधान गर्ने प्रतिबद्धता कोषाध्यक्षबाट आउने गरे पनि समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ ।
अध्यक्ष पौडेलका अनुसार भदौ ८ गतेदेखि संस्थाका चालु बैंक खातासमेत बन्द भएका थिए । नेपाल राष्ट्र बैंकबाट सम्बन्धित बैंकमा पत्राचार भएपछि सञ्चालनमा रहेका खाताहरू पनि बन्द भएको उहाँले बताउनुभयो ।
खाता बन्द भएपछि विद्युतको बिल तिर्न, कर्मचारीलाई तलब दिन तथा संस्थाका नियमित बिल–बिजकको काम गर्न समस्या भएको अध्यक्ष पौडेलको भनाइ छ । तर, कोषाध्यक्ष श्यामलाल भण्डारीले भने आफू व्यक्तिगत रूपमा कालोसूचीमा परे पनि त्यसको असर संस्थाको बैंक खातामा पर्न नहुने दाबी गर्नुभएको छ । आफू कसैको जमानी बसेका कारण व्यक्तिगत रूपमा कालोसूचीमा परेको भए पनि आफ्नो व्यवसाय सञ्चालनमा भने कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।
भण्डारीले संस्थाभित्र पछिल्लो समय राजनीतिक चलखेल बढेको र आफूलाई संस्थाबाट बाहिर निकाल्ने उद्देश्यले केही व्यक्तिले बैंकमा फोन गरेर संस्थाका खाता बन्द गर्न लगाएको आरोप लगाउनुभएको छ । कृषि विकास बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकलगायतका बैंकमा खाता सञ्चालनमा आएको भए पनि पछि फोनमार्फत बन्द गर्न लगाइएको उहाँको दाबी छ ।
आफ्नो व्यक्तिगत बैंकिङ समस्याका कारण संस्थागत कारोबार रोक्न नहुने भन्दै भण्डारीले संस्थाको बैंकिङ कारोबार सञ्चालनका लागि आफूले विभिन्न विकल्प प्रस्ताव गरेको बताउनुभयो । व्यक्तिगत समस्या समाधान गर्न आफूले एक साताको समय मागेको, तर समितिबाट आवश्यक समय नदिइएको उहाँको आरोप छ ।
यस्तै, संस्थाको बैंकिङ कारोबार सञ्चालनका लागि संस्थागत निर्णय गरी अदालत जाने तथा विधान संशोधन गर्ने प्रस्तावसमेत आफूले राखेको भए पनि समितिबाट पारित हुन नसकेको भण्डारीले बताउनुभयो ।
आफ्नो कारणले कुनै बैंक खाता बन्द भए त्यसको जिम्मेवारी आफूले लिने लगायतका विषय समेटेर प्रस्ताव तयार गर्दा समेत समितिले त्यसलाई अघि नबढाएको उहाँको भनाइ छ ।
भण्डारीले आफू कुनै राजनीतिक दलको उम्मेदवार नभई स्वतन्त्र रूपमा निर्वाचन प्रक्रियाबाट कोषाध्यक्ष पदमा निर्वाचित भएको बताउँदै संस्थाका केही पदाधिकारीबाट असहयोग भएको आरोप लगाउनुभएको छ । राजनीतिक दबाब र असहयोगका कारण आफूले राजीनामा दिनुपर्ने अवस्था आएको उहाँको दाबी छ ।
यता, अध्यक्ष पौडेलले भने कोषाध्यक्षलाई हटाउन वा संस्थाबाट वञ्चित गर्न खोजिएको भन्ने आरोप गलत भएको बताउनुभएको छ । संस्थाको बैंक खाता सञ्चालन हुनुपर्ने आफूहरूको मुख्य उद्देश्य रहेको र कोषाध्यक्षको हस्ताक्षरबाट खाता सञ्चालन हुने अवस्था बनेमा उहाँलाई संस्थामा स्वागत गरिने उहाँको भनाइ छ ।
बैंक खाता अन्य व्यक्तिबाट सञ्चालन गर्न कानुनी तथा विधानगत समस्या रहेको अध्यक्ष पौडेलले बताउनुभयो । अन्य व्यक्तिमार्फत खाता सञ्चालन गर्न विधान संशोधन गर्नुपर्ने र त्यसका लागि विशेष साधारणसभा बोलाएर अनुमोदन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
संस्थामा कुनै पनि आर्थिक हिनामिना नभएको अध्यक्ष पौडेलले दाबी गर्नुभएको छ । कोषाध्यक्षको व्यक्तिगत कारोबारका कारण संस्थाले समस्या भोग्नुपरेको भए पनि त्यसलाई संस्थाको आर्थिक हिनामिनासँग जोड्नु गलत हुने उहाँको भनाइ छ ।
संस्थाभित्रको समस्या समाधानका लागि विभिन्न समयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकसमेत आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

























