दाङ । तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ अश्वारस्थित श्री नवदुर्गा भगवती मन्दिरको दानपेटिकासहित तुलसीपुरका बेलुवा, दोघरे, अश्वारा लगायत विभिन्न स्थानमा रहेका घर तथा पसलमा चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ सम्झनाटोल बस्ने १९ वर्षीय तुफान परियार र सोही वडाको अश्वारा बस्ने २१ वर्षीय अनुप बस्नेत रहेका छन् ।
उनीहरूलाई प्रहरीले असोज ५ गते पक्राउ गरी दाङ जिल्ला अदालत, घोराहीबाट नकबजनी चोरीसम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट विभिन्न चोरीका सामान तथा एक हजार ६ सय ९० रुपैयाँ नगद बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

























