तुलसीपुर । महिलाको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुरमा आयोजित महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्पन्न भएको छ। आर्टिस्टिक इन्टरटेन्मेन्टको आयोजनामा तुलसीपुरस्थित अरनीको मैदानमा सम्पन्न प्रतियोगितामा ४६ जना महिलाको सहभागिता रहेको थियो।
प्रतियोगितामा सुधा सुमन ढकाल प्रथम, कृष्णी चौधरी द्वितीय र विप्लव भट्टराई तृतीय हुनुभएको छ।प्रतियोगितामा प्रथम हुने ढकाललाई ५ हजार रुपैयाँ, द्वितीय हुनेलाई २ हजार ५ सय रुपैयाँ र तृतीय हुनेलाई १ हजार २ सय ५० रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ।
यस्तै, प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई प्रमाणपत्र,एक थान टिसर्ट र नेपाली कथानक चलचित्र ‘बा एक योद्धा’ हेर्नका लागि दुईवटा टिकट उपलब्ध गराइएको आर्टिस्टिक इन्टरटेन्मेन्टका समन्वयकर्ता झग्गु भण्डारीले जानकारी दिनुभयो।
दङ्गाली निर्माता बसन्त लम्साल र अनिल बुढाथोकीले निर्माण गरेको चलचित्र बा एक योद्धा आगामि असोज ९ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर,खेलाडी,पत्रकार लगाएतकाे सहभागिता रहेकाे थियाे ।

























