दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थी स्कुल गइसकेपछि विद्यालय बन्दको सूचना जारी गरेको छ ।
भोलिदेखि तीनदिनसम्म भारी वर्षाको संभावना रहेको भन्दै संघिय सरकारले अवस्था हेरेर आज र भोलि विद्यालय बन्द गर्न आग्रह गरेपछि तुलसीपुर उपमहागरपालिकाले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना अधिकारी यज्ञ बहादुर केसीले जानकारी दिनुभयो । विद्यालय बन्द गर्ने सूचना आउँदा बिहानको ९ बजिसकेको थियो ।
उपमहानगरपालिकाको सूचना जारी हुँदा अधिकांश विद्यार्थी विद्यालय पुगिसकेका छन् । सूचना ढिलो आउँदा आज विद्यालय बन्द गर्ने र संचालन गर्ने अन्यौलता सिर्जना भएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले अन्यौलताका बिच अलि ढिला गरी आज बिहानमात्रै विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो । छिमेकी पालिकाले समेत विद्यालय बन्द गरिसकेपछि तुलसीपुरले पनि विद्यालय बन्द गर्ने निर्णयमा पुगेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बाढी, पहिरो र डुबान क्षेत्रका विद्यालय बाहेक अन्य विद्यालय बन्द नगराउने विषयमा छलफल भएपनि हावाहुरीको जोखिम पनि भएकाले सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले निर्णय ढिलो आएका कारण केहि समस्या भएको बताउनुभयो । उहाँले केहि विद्यालयका गाडी विद्यार्थी ल्याउन समेत गइसकेकोले अन्यौलता भएको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले पनि आज र भोलि दुई विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

























