२०८३ कार्तिक ६ गते शुक्रवार

लगातारको वर्षाले लुम्बिनी प्रदेशका १८ सडक अवरुद्ध


दाङ । लगातारको वर्षाले आएको बाढी र पहिरोबाट लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ वटा सडक अबरुद्ध भएका छन् । केही सडक खुलाउने प्रयास जारी छ भने केहीमा समय लाग्ने प्रहरीले जनाएको छ । बाढी र पहिरोले गुल्मी र पाल्पामा बढी सडक अबरुद्ध भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान विवरण सार्वजनिक गरेको विवरण अनुसार पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका सडकखण्ड अवरुद्ध रहेको जनाएको हो । प्रहरी उपरीक्षक निशान थापाले गुल्मीका ७, पाल्पाका ५, प्यूठानका ३, रोल्पाका २ र अर्घाखाँचीको एक सडकखण्ड अवरुद्ध भएको बताउनुभयो ।

रोल्पामा सहिदमार्ग अन्तर्गत रोल्पा नगरपालिका–६ लामडाँडा र घोराही–होलेरी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१३ बाहुनकुनेमा सडक बन्द छ । अर्घाखाँचीको गोरुसिङ्गे–अर्घाखाँची सडक खण्ड अन्तर्गत शितगंगा नगरपालिका–४ ठाडा क्षेत्रमा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्से, हर्मीचौर र पुर्तिघाटमा सडक अबरुद्ध भएको छ । कालीगण्डकी करिडोर गुल्मी खण्डमा तीन स्थानमा, पाल्पा खण्डमा एक र बाग्लुङ खण्डमा २ स्थानमा अबरुद्ध भएको छ ।

त्यस्तै रुद्रबेनी–वामीटक्सार सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभिर, मदन भण्डारी सहायक राजमार्गअन्तर्गत छत्रकोट गाउँपालिका–३ शृङ्गा देउराली, तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१० सिमिचौर, रिडी–वामीटक्सार सडक खण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका–८ सोतामा पनि पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

पाल्पामा रामपुर–आर्यभञ्ज्याङ सडकखण्ड, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडक खण्ड अन्तर्गत तानसेन क्षेत्र र रामपुरदेखि पिपलडाँडा हुँदै जाने सडक खण्ड अन्तर्गत रम्भा गाउँपालिका–१ असर्दीमा सडक अवरुद्ध छ ।

प्यूठानमा बाग्दुला–बाहाने सडक खण्ड अन्तर्गत नौबहिनी गाउँपालिका–६ बाग्दुला, बाहाने–खवाङ सडक खण्ड अन्तर्गत नौबहिनी गाउँपालिका–६ लाखाचौर र भालुवाङ–प्यूठान सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ कुडुलेमा सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडकखण्डमध्ये केही स्थानमा सडक खुलाउने काम भइरहेको भए पनि लगातार वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस