२०८३ असोज २० गते मङ्गलवार

विद्यार्थीलाई बोल्ने कला सिकाउँदै शिखा स्कुल


दाङ । विद्यार्थीमा आत्मविश्वास, स्पष्ट अभिव्यक्ति र सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी ढंगले राख्ने क्षमता विकास गर्ने उद्देश्यले तुलसीपुरमा उद्घोषण कला तालिम सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको शिखा इंग्लिस स्कुलले रेडियो हाम्रो पहुँचसँगको समन्वयमा बुधबारदेखि चारदिने उद्घोषण कला तालिम सुरु गरेको हो ।

विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक रूपमा आफ्ना कुरा प्रस्तुत गर्न सक्ने बनाउन तालिमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक सुमन केसीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा उहाँले विद्यार्थीको व्यक्तित्व विकासमा बोल्ने कलाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले भविष्यमा जुनसुकै पेशा र क्षेत्रमा काम गर्दा पनि आफ्ना कुरा स्पष्ट रूपमा राख्न सक्ने क्षमता आवश्यक हुने भएकाले उद्घोषण तालिमको आयोजना गरिएको बताउनुभयो ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले उद्घोषण कला सिकाइले विद्यार्थीलाई मञ्चमा निर्धक्क भएर बोल्न, श्रोता तथा दर्शकसँग प्रभावकारी रूपमा संवाद गर्न र आफ्ना विचारलाई क्रमबद्ध तथा स्पष्ट रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले बोल्ने शैली र प्रस्तुतिको प्रभाव हरेक पेशा तथा व्यवसायमा महत्वपूर्ण हुने भएकाले विद्यार्थी अवस्थादेखि नै यस्तो सीपको विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक सुसन केसीले तालिम विद्यार्थीका लागि व्यवहारिक र उपलब्धिमूलक हुने बताउनुभयो ।

चार दिनसम्म सञ्चालन हुने तालिममा विद्यालयका ४३ जना विद्यार्थी सहभागी छन् । तालिमको पहिलो दिन रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जितसागर जी.एमले विद्यार्थीलाई उद्घोषणको आधारभूत सीप, आवाजको उतारचढाव, शब्द उच्चारण, प्रस्तुति शैली तथा मञ्चमा बोल्दा अपनाउनुपर्ने तरिकाबारे प्रशिक्षण दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस