२०८३ असोज २१ गते बुधवार

टरिगाउँ विमानस्थल फेरि चर्चामा : सांसददेखि मन्त्रीसम्मले गरे अवलोकन

दाङ । दाङको टरिगाउँ विमानस्थल फेरि चर्चामा आएको छ । हरेक पटकको चुनाव नजिकिदै गर्दा विमानस्थल विस्तारको चर्चा हुने तर काम नहुने प्रवृति बिगतदेखि चल्दै आएको छ । यसपटक करिब २ तिहाइ नजिकको राष्ट्रिय स्वतन्त्र पाटी नेतृत्वको सरकारले २५ करोड बजेट बिनियोजन गरेपछि नागरिकमा आशा त पलाएको छ, तर विमानस्थल नबन्ने आशंका पनि उत्तिकै छ ।

बुधबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्गराज पौडेलसहित दाङबाट निर्वाचित रास्वपा सांसदले बुधबार स्थलगतरुपमा अवलोकन गरेका छन् ।

विमानस्थलको अवलोकनपछि मन्त्री पौडेलले पत्रकारसंगको कुराकानीमा विमानस्थल विस्तारमा समस्या नरहेको बताउनुभयो । उहाँले धावनमार्ग विस्तारमा थुप्रै संभावना रहेको बताउनुभयो । ‘प्राविधिकको आँखाले के भन्छ भन्न सकिदैन, तर हामीले स्थलगत अवलोकन गर्दा संभावना देख्यौँ ।’ उहाँले भन्नुभयो–‘धावनमार्ग ठुलो बनाउन थप ६ सय मिटर लम्बाई बढाउन सकिन्छ भन्ने अनुमान छ ।’

उहाँले विमानस्थल विस्तारमा आवश्यक बजेट आगामी आर्थिक वर्षमा व्यवस्थापन गर्न सकिने भएकाले अहिलेको बजेटले बन्दैन कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।

यस्तै दाङको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विपिन कुमार आचार्यले टरिगाउँ विमानस्थल विस्तारको काम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पाटीका महामन्त्री समेत रहेका सांसद आचार्यले आफु र आफ्ना कारणले भन्दा पनि सरकारले तथ्यमा टेकेर काम गर्ने बताउनुभयो ।

‘विमानस्थल रातारात बन्ने भन्ने हुँदैन, मूख्य कुरा बनाउने आशय छ कि छैन भन्ने हो । विमानस्थल बनाउने कुरामा हामी निकै गम्भिर भएर लागेका छौँ ।’ उहाँले भन्नुभयो–‘तर एउटा कुरा के भने, तपाईहरुले पनि १५ दिनपछि नै एयरपोर्ट किन बनेन भन्ने प्रश्न नगरिदिनुहोला ।’

टरिगाउँ विमानस्थल विस्तारमा भेगिए राजनीति नहुने उहाँले बताउनुभयो । टरिगाउँ विमानस्थलका लागि दाङमात्र नभएर प्युठानका सांसदको समेत ऐकिबद्धता रहेको बताउनुभयो ।

यस्तै नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले विमानस्थल विस्तारका लागि आवश्यक अध्ययन भइरहेको बताउनुभयो । उहाँले जतिसक्दो कम लागतमा विमानस्थल विस्तार गर्ने गरी काम अघि बढेको बताउनुभयो ।

टरिगाउँ विमानस्थल विस २०११ सालमा स्थापना भएको हो । नेपालकै दोस्रो विमानस्थल टरिगाउँ विमानस्थल करिब ७ दशक पुरा हुँदा पनि विस्तार हुन सकेको छैन् । चुनावकै समयमा अत्याधिक चर्चामा आउने टरिगाउँ विमानस्थल विस्तारमा नागरिक आशा र आशंका गरिरहनु परेको छ ।

सरकारले टरिगाउँ विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा २५ करोड बजेट बिनियोजन गरेको छ । जुन रकम अहिलेसम्म विनियोजन भएको रकममध्ये धेरै रकम हो । तर विमानस्थल विस्तारमा नागरिकले अझै आशंका गरिरहेका छन् । सात दशकसम्म बन्न नसकेको विमानस्थल विस्तारमा दाङबाट निर्वाचित रास्वपाका सासंदहरुले यसैपटक विमानस्थल विस्तार हुने दावि गरेका छन् ।

रास्वपा दाङले बुधबार तुलसीपुरमा गरेको वृहत छलफल कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीदेखि दाङ र प्युठानबाट निर्वाचित रास्वपाका सबै सांसदले टरिगाउँ विमानस्थल विस्तारमा सामुहिक प्रतिवद्धतासमेत जनाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस