दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभाअन्तर्गत एकाइ प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ ।
आज आइतबार संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा वार्षिक साधारणसभामा प्राप्त सुझाव, संस्थाको नीति तथा कार्यक्रम, बजेट र विभिन्न कार्यविधिसम्बन्धी विषयमा छलफल गरिएको छ ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभा भव्य र सानदार रूपमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार साधारणसभामा चार जना सदस्यले प्रत्यक्ष रूपमा, ३० जनाले लिखित रूपमा र दुई जनाले म्यासेन्जरमार्फत गरी ३६ जना सदस्यले आफ्ना सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए ।
सदस्यहरूले उठाएका अधिकांश जिज्ञासाको साधारणसभामै सम्बोधन गरिएको उहाँले बताउनुभयो । साधारणसभामा सदस्यहरूले जग्गाको आंशिक फुकुवा गर्ने व्यवस्था नीतिगत कार्यक्रममा समावेश गर्न सुझाव दिएका थिए । त्यस्तै, एक वर्षसम्म नियमित बचत नगर्ने तथा संस्थाले तोकेको मापदण्ड पूरा नगर्ने निष्क्रिय सदस्यले राहत कोषको सेवा नपाउने व्यवस्था र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यले समेत कम्तीमा एक सय रुपैयाँ बचत गर्नुपर्ने सुझावलाई पनि निर्णय पुस्तिकामा समावेश गरेको जानकारी गराउनुभयो ।
त्यसैगरी, कर्मचारी स्थायी गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा तीन वर्षको अवधिलाई घटाएर दुई वर्ष कायम गरिएको तथा आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेपछि मात्रै स्थायी गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । साधारणसभामा प्राप्त सुझावलाई समेटेर निर्णय पुस्तिकामा हस्ताक्षर गरिएको छ ।
बैठकमा संस्थाको विनियम तथा कार्यविधि संशोधन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक प्रशासन कार्यविधि, नीति तथा कार्यक्रम र बजेटसम्बन्धी विषयमा छलफल गरी निर्णय पुस्तिकामा हस्ताक्षर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।
बैठकमा सञ्चालक समितिका सम्पूर्ण सदस्य, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा पाँचवटा एकाइका ३१ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको बैठक बसेको हो । उपाध्यक्ष कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण संस्थाका सचिव जीवराज अधिकारीले गर्नुभएको थियो ।



























