दाङ। तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन भएका फूलको बजारीकरण सहज बनाउन भोलि सोमबार नै फूलको थोक तथा खुद्रा मूल्य निर्धारण गर्ने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले रेडियो हाम्रो पहुँचसँगको कुराकानीमा फूलको मूल्य निर्धारण गर्न ढिलाइ भएको स्वीकार गर्दै किसानको सहजताका लागि भोलि नै मूल्य तोकिने बताउनुभएको हो ।
फूलको मूल्य निर्धारणमा स्थानीय सरकारले चासो नदिएको भन्दै किसानबाट गुनासो आएपछि रेडियो हाम्रो पहुँचले नगरप्रमुख खड्कालाई टेलिफोन सम्पर्क गरी मूल्य निर्धारणमा भइरहेको ढिलाइबारे जिज्ञासा राखेको थियो ।
जवाफमा नगरप्रमुख खड्काले फूलको मूल्य निर्धारण गर्दा व्यवसायीलाई समेत समस्या पर्न सक्ने भएकाले ढिलाइ भएको बताउनुभयो । तर किसानको हितलाई ध्यानमा राख्दै थोक र खुद्रा मूल्य निर्धारण गरी सम्बन्धित शाखामार्फत सूचना सार्वजनिक गर्न लगाइने उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख खड्काका अनुसार उपमहानगरपालिकाले फूल बिक्रीका लागि विभिन्न चार स्थानसमेत तोकेको छ । जसअनुसार पूर्वतर्फ घोराही रोडमा विद्युत् कार्यालय नजिक, उत्तरतर्फ सल्यान रोडमा खानेपानी कार्यालय नजिक, पश्चिमतर्फ बसपार्कको कोसेली घर नजिक र दक्षिणतर्फ गुम्राह चोक नजिक फूल बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै, स्थानीय फूल उत्पादक किसानको पहिचान र सहज सम्पर्कका लागि नगरपालिकाको वेबसाइटमार्फत किसानको विवरण र सम्पर्क नम्बरसमेत सार्वजनिक गरिसकिएको नगरप्रमुख खड्काले बताउनुभएको छ ।
यसअघि स्थानीय किसानले उत्पादन गरेको फूलको बजारीकरणमा तुलसीपुर उपमहानगरपालिकाले वेवास्ता गरेको समाचार प्रकाशित भएको थियो ।


























